भर्खर कक्षा २/३ मा पढ्थे। किशोरावस्थासम्म टेकेको थिइन्। सायद ८/९ वर्षको हुँदी हुँ।
मलाई स्कुल जान डर लाग्न थालेको थियो। झन दोस्रो कक्षाको घण्टी बज्दा मेरो मनको घण्टी त्यो भन्दा जोडले बज्न थाल्थ्यो। किनकी मलाई दोस्रो कक्षा लिने सर पटक्कै ठिक लाग्थेन। मेरो पलाउँदै नपलाएको छातीमा बारम्बार चिमोटि रहँदा मलाई असाध्यै दुख्थ्यो, छाति र छातिभित्रको मन दुवै। त्यो सर मेरो नजिक आउँदा उस्लाई घोचोस भनेर पेन्सील तिखो बनाएर राख्थे तर घोच्ने आँट कहिल्यै आएन। ट्वाइलेट गएर समय बिताउन खोज्थेँ तर पाँच मिनेट भन्दा बढी कहिल्यै बितेन। ४५ मिनेटको कक्षा मलाई वर्षौँ जस्तो लाग्न थालेको थियो। त्यो कक्षा र सर सम्झेर विद्यालयमा मात्र होइन मलाई घरमा पनि मनमा अर्कै पीर परिरहेको हुन्थ्यो। विस्तारै मेरो पढाइ बिग्रिँदै गयो। कति पटक स्कुल जाँदिन भन्थे, कति पटक अर्कै स्कुल पढ्छु भन्थें तर किन के समस्या भइरहेको छ भनेर सोध्नुको साँटो आमा बुबाले उल्टै पढाइ बिगारेको र स्कुल जाँदिन भनेको निउँमा गाली गर्ने र पिट्ने गर्नुभयो।
स्कुलबाट फर्कँदा खेतको बाटो छिटो हुन्थ्यों। हामी छिटो घर पुग्नका लागि प्राय खेतको बाटो हिँड्थ्यौं। खेतको बोटोमा कहिलेकाँही हामी भन्दा केही ठूला केटाहरु बसेका हुन्थे। फोहोर शब्द बोल्दै जिस्काउँथे। कहिलेकाँही बाटो पनि छेक्थे। घर गएर आमालाई रुँदै सुनाउँदा आमाले उल्टै ‘तलाईँ खेतको बाटो नहिँड कति भन्नु? खुरुखुरु बाटैबाटो आउनु पर्दैन’ भनेर गाली गर्नुभयो।
हामीलाई टिउसन पढाउने एक जना आफन्त थिए। घरमै आएर अरु पनि केटाकेटी भेला गरेर पढाउँथे। पढाउन खुब सिपालु छ भनेर सबैले तारिफ गर्थे। धेरै जसो हाम्रै घरमा हुन्थे। तर मलाई तिनको छुवाइ पटक्कै मन पर्थेन। तिनले मलाई गर्ने व्यवहार र हेराइ असहज लाग्थ्यो। आमा बुबा नहुँदा झन तिनले माया गरेको बोलेको पनि पटक्कै मन पर्थेन। विस्तारै म तिनको छेउ जान छोडें। झगडा गर्थें। रिसाउँथे। आमाबुवाले चिया लग्दे, पानी लग्थे भन्दा मान्दिन थिएँ। सबैलाई राम्रो लागेको मान्छे मेरी छोरीलाई किन ठिक लागिरहेको छैन भनेर बुझ्नुको साँटो बा आमाले उल्टै मलाई घमण्डी भैस भनेर गाली गरिरहन्थे।
एक दिन गोठालो गएर घर फर्किँदै गर्दा सँगै फर्किएको घर नजिकैको दाई पर्ने मान्छेले मेरो गोप्य अंग समायो। हात समाएर गालामा चुम्बन पनि गर्यो। कसैलाई नभन तलाईँ चकलेट किन्दिन्छु भन्यो। तर घर आइनपुग्दै आमालाई देख्नासाथ मेरो भाक्कानो छुट्यो। रुँदै आमालाई सुनाए। आमाले उल्टै, ‘तलाई केटाहरुसँग नखेल, नहिँड भनेको होइन? भोलीदेखि उनीहरुसँग नहिँड्नु भाइलाई साथी लिएर जानु चुप लाग अब’ भन्नु भयो।
सहि गलत छुटयाउन सक्ने मेरो उमेरै थिए। यी सब हिंसा हुन भन्ने झन कसरी बुझ्नु मैले। तर पनि कसैले जिस्काउँदा, कसैले गलत नजरले हेर्दा, छुँदा, बोल्दा असाध्यै असहज भने हुन्थ्यो। तर जति पटक पनि यस्ता घटना भए त्यति नै पटक मलाई मेरै कमजोरी देखाइयो। मलाई म नै गलत थिएँ भन्ने महसुस गराइयो। म गलत बाटो हिँडेकि थिएँ, म गलत मान्छेसँग खेलेकी थिएँ, मैले लगाउन नहुने लुगा लगाएकी थिएँ, म बोल्न नुहने मान्छेसँग बोलेकी थिएँ, म हाँस्न नहुने ठाउँमा हाँसेकी थिएँ...त्यसपछि छाेडिदिएँ म सँग घट्ने घटना कसैलाइ सुनाउन...
पछि ८,१० पढ्दा, सरले पढाउने, सिकाउने नाममा गरेक गलत व्यवहार स्पष्ट थाहा हुन्थ्यो तर कसैलाइ भनिएन। किनकी मलाइ थाहा थियो घरकाले सर गलत हैन तलाइ तेस्तो लागेको भनेर सामान्य रुपमा लिन्छन् अथवा बेज्जत हुन्छ सानो कुरा हो भनेर पनि चुप लगाउन सक्छन्। गाउँमा भनौ वा उजुरी गरौं भने गाउँलेले फलानिलाई खुब बैँस चढेछ सरसँग यस्तो भन्दै थिइ भन्दिन्छन् उल्टै भन्ने कुरा मलाइ थाहा थियाे।
काठमाडौं आएर पहिलो दिन क्याम्पस जाँदा रत्नपार्क, टुडिखेल दुई फन्को मार्दा पनि गाडी कहाँबाट चढ्ने पत्तो पाइन। अहिले सम्झिँदा रंगशालासम्म पुगेर पनि फेरि रत्नपार्क फर्किएको रैछु। कति जनालाई सोधेँ कसैले कता देखाए कसैले कता म अलमल्ल परेर रत्नपार्कमा उभिरहेको थिएँ। एक जना मान्छेले केही अर्कै नामले मलाई बोलायो। मैले फर्किएर हेरेपछि ‘तिमी समिक्षा बहिनी होइन’ भन्यो। मैले होइन भनेपछि उसले आफ्नो साथीको बहिनी समिक्षा जस्तै लागेर बोलाएको भन्दै अरु गफ गर्न थाल्यो। हामीलाई सानै देखि हाँसेर मिठो बोल्न सिकाइएकाे जाे थियाे, मैले नि बोले र केही बेरपछि किर्तिपुर जाने गाडी कहाँबाट पाउँछ भनेर सोधेँ। त्यहिँ नजिकै रैछ उसले देखाइदियो तर आफूपनि उतै जान लागेको भन्दै मलाई पुर्याइदिन्छु भन्यो। मैले होइन म जान्छु भने। तीन पटकसम्म उसले अफ्ट्यो मान्न पर्दैन म लग्दिन्छु भनेसी हामीलाई घरमा ‘हस’ मात्र भन्न सिकाएका थिए नि जसले गर्दा यो मान्छे ठिक होइन भन्ने मनमा थाहा भएर पनि अडान लिएर नाइ भन्न सकिन। बसे बाइकमा।
बाटोमा पनि गफ गर्दै थियो। आफ्नो कुरा सुनाउँदै थियो। मेरो नि सोध्दै थियो। आधाबाटो पुगेसी कुरा गर्दै जाँदा उसले मलाई आफ्नो शारीरिक सम्बन्ध राख्ने साथी बन्न आग्रह गर्यो म छाँगाबाट खसेजस्तो भएँ। किर्तिपुर पुगेर उसले आफ्नो नम्बर दिएर गयो कल गर्नु भनेर। मेरा हातगोडा कोठा पुग्दासम्म कापी रहे। खाना खान मन लागेन। एक हप्तासम्म त्यो बाटो हिँड्दा पनि डर लागिरहयो।
तर पनि मैले कसैलाइ भन्न सकिन यस्तो भयो भनेर। किनकी मलाइ थाहा थियो ‘ब्याचरल पढ्ने मान्छेलाई नचिनेको मान्छेसँग हिड्न हुन्न भन्ने थाहा थिएन ? अरुको बाइकमा चढ्न हुन्न भन्ने थाहा थिएन?' भनेर प्रश्न म माथी नै आउछ भन्ने।
गाडिमा उभिएर यात्रा गर्दा नियतबस दुरव्यवहार गरेको सहन नसकेर कति पटक रुँदै आधा बाटोमै गाडिबाट झरेको छु । तर कसैलाइ केही भनिन किनकी मलाइ थाहा थियो ‘भिडमा यस्तै हुन्छ’ भनेर घटना टर्छ भन्ने।
अफिसका म भन्दा सिनियर एक जना हाकिम र मेरो बस्ने ठाउँ एकै तिर थियो। बिहान म आफ्नै तरिकाले गए पनि साँझ फर्किँदा एकै ठाउँ जाने त हो हिँड म पुर्याइदिन्छु भन्थे। कहिलेकाँही अफिसमै हुँदा पनि चिया पिउन जाउँ भनेर सँगै जान्थेँ। एक दिन अफिसबाट फर्किँदा चिया पिउँ भनेर एउटा होटलमा पसाए। चिया पिउन बस्दा उ मसँगै टाँसिएर बस्यो। म अफ्ट्यारो महसुस गर्दै थिएँ उसले मेरो हात हुँदै तिघ्रासम्म हात राख्न भ्यायो। मैले सहन नसकेर झर्किएर गाली गरेँ र त्यहाँबाट उठेर हिँडे। मलाई असाध्यै नराम्रो लाग्यो। कोठा पुगेर बेस्सरी रोएँ। अफिस जान छोडिदिएँ तर कसैलाई केही भनिन् किनकी हाकिम सँग किन जिस्किनु? हाकीमसँग किन चिया पिउन होटल जानु? किन बाइकमा चढ्नु? केटा मान्छेको ध्यान भड्काउने लुगा किन लगाउनु ? भनेर प्रश्न म माथि नै आउँछ भन्ने मलाई थाहा थियो।
बिहान क्याम्पस जाँदा होस साझ अफिसबाट फर्कदा भिडमा ठोक्किदै हिड्ने र एक्लो पाउँदा जिस्काउँदै हिड्नेबारे कहिल्यै कसैलाई केही भनिन किनकि मलाइ थाहा थियो ‘छोरी भएर किन साँझ बिहान हिड्न पर्यो?' भन्ने प्रस्न मलाइ नै गर्छन भनेर।
फेसबुक ह्याक गरेर म्यासेजहरु स्कृन सर्ट गरेर विभिन्न माग राख्दै ब्ल्याकमेल हुदासम्म कसैलाई केही भनिन। किनकी मलाइ थाहा थियो ‘आफ्नो फेसबुकको सुरक्षा गर्नु पर्दैन’ ? भन्ने प्रस्न मलाइ नै गर्छन भनेर।
कसैलाइ माया पो गर्न थाले जस्तो हुँदै थियो। बोलेको एक महिना नहुँदै शारीरिक सम्पर्कको प्रस्ताब गर्दा जिन्दगी भर त्यसको अनुहार पनि सम्झन मन नलाग्ने भयो। त्यसबारे पनि कसैलाई भनिन किनकी खुब बैँस चढेर माया गर्नु पर्ने भन्ने कुरा मैले नै सुन्न पर्छ भन्ने मलाइ थाहा थियो।
साच्चै माया गर्न थालेको थिएँ कसैलाई। त्यसको १५ दिन नहुँदै कोठामा बोलाएर जबर्जस्ति गर्न खाेजियाे। तीन पटक सम्म त नाइँ भनेकै हुँ तर चौँथो पटक उ सफल भयो आफ्नो भोक मेट्न अनि म असफल भए मेरो कुमारित्व बचाउन। मायाका लागि थियो कसैलाई केही भन्न सकिन । किनकी उस्ले माया गर्छु भन्ने विश्वास दिलाएको थियो। कसैलाई केही भन्न सकिन किनकी उस्ले मेरो कपडा च्यातेको थिएन । मलाइ मारेर झाडिमा फालेको थिएन। उल्टै समाजको तिरस्कार मैले मात्र होइन मेरा परिवारले पनि भोग्न पर्छ भन्ने कुरा बुझेकी थिएँ मैले। यो समाजले मेरो र मेरो परिवारको इज्जत मेरो याेनीमा राखिदिएको छ भन्ने मलाई थाहा थियो। मैले सामाना गरेको सबै समस्यामा समाजले मेरै गल्ती देखाउँछ भन्ने मलाई थाहा थियो।
म मात्र होइन यस्ता समस्या हाम्रो जस्तो समाजमा दैनिक सयौं, हजारौं आमा, दिदिबहिनी, भाउजु, काकी, साथी, छोरी भतिजीहरुले भागिरहेका छन्। आफूमाथि भएको अन्याय बाहिर ल्याउँदा कयाैं प्रश्नको सामाना गर्नुपर्छ, समाजको तिरस्कार सहनुपर्छ, जिन्दगीभरलाई पुग्ने अपमान खप्नुपर्छ भन्ने कुरा यी सबलाई थाहा छन्। कसैसँग नजिक किन भइस्? एक्लै किन गइस्? हाँसेर किन बोलिस्? प्रेम किन गरिस्? छोटा लुगा किन लगाइस्? चन्चल किन भइस्? किन बोलिस्? केटा मान्छे त यस्तै हुन मौका पाएसी कहाँ छोड्छन् र तँ किन बचेर हिँडिनस्? यस्ता अनेकन प्रश्न आउने डरले वर्षैँदेखि सयौं महिला मनका पीडा मनमै गुम्साएर पल पल मर्दै बाँचिरहेका छन्। तर बाेलेका छैनन् किनकी बाेल्याे भने के हुन्छ उनीहरूले बुझेका छन्। समाज चिनेका छन्। समाजका हिंस्रक मानसिकताहरू अत्तालिन्छन् र डरले जताततै डस्न थाल्छन् भन्ने बुझेका छन्।
लाखौ महिलाले बुझेका कुरा तिमीले किन बुझिनौं? लाखौं महिलाले सहन सक्ने कुरा तिम्ले किन सहन सकिनौ? किन बोल्यौ? किन सार्वजनिक गर्यौ आफ्नै पीडा? किन कानुनी न्याय खाेज्न गयाै? किन अन्याय विरूद्ध लड्याै? सहनु पर्ने तिमिले पनि ।लुकाउनु पर्थ्यो तिमिले पनि। यो समाजले तिम्लाई यति सम्म त प्रस्न गर्दैन थिए सहन सकेकी भए। यति सम्म बेज्जेत त गर्दैन थिए सहेकी भए। यतिसम्म तिम्राे चरित्र हत्या गर्न लागि पर्ने थिएनन्। गल्ती गर्यौ तिमिले गौशाला २६, गल्ती गर्यौ । मानवता नभएको ठाउँमा न्याय खोज्यौ। कानुनले जिताएपनि समाजले सँधै हराइरहयाे तिमिलाई....
यति डरलाग्दो समाजको नजर र वाणीलाई सामना गर्ने हिम्मत गरेर न्यायका लागि लड्ने तिम्रो हिम्मतलाई भने सलाम...कास सबै महिलाले यति हिम्मत राख्ने हो भने मेरो समाजको यो संकुचित मानसिकतामा चाँडै सुधार आउने थियो...