मानवीय जिवन जगतका दुई वर्ग नारी र पुरुष एकअर्काका अन्योन्याश्रित अङ्ग हुन्।मनुष्योचित सामाजिक संरचनाको अग्रगमनमा यी दुई वर्गको भूमिका उत्तिकै महत्वपूर्ण रूपमा रहेको हुन्छ । नारीमा मात्र हुने केही प्रकृतिशिद्ध गुणका कारण नारी पुरुष दुवै वर्गका निम्ति नारीको योगदान अतुलनीय रहन्छ । नारीमा हुने रजस्वला, गर्भधारण र प्रस्रववेदना जस्तो आङ्गिक भिन्नताले नै पुरुष वा स्त्रीरत्न दायनीनी नारी नै बनेकी छन् । यस्तो अनुपम शक्ति स्वरूपिनी नारी जातीलाई पुरुषभन्दा कमजोर ठान्नु विडम्बना हो भन्दै आजको संसारले नारीका बहुपक्षीय विकासका निम्ति अनगिन्ती अवसरहरू अगाडि सार्न थालेको छ । फलतः इ.सं. १९७५ मा संसारभर नारी वर्ष बनाउनका साथै नारी मान्यता र मूल्यलाई उजागर गर्न हरेक वर्ष मार्च ७ तारिक (फाल्गुण) २४ गतेका दिन ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाउने प्रचलनले पनि महिला उत्थानमा विशेष जोड दिनुका साथै महिला जागरणमा उल्लेख्य अवसर प्रदान गरेको छ ।
पूर्वीय शास्त्रले ‘यत्र नारी पूज्यन्ते रमन्ते तंत्र देवता’ भन्दै नारीजातीको सम्मानमा जोड दिएको छ । नारी शिक्षित र साक्षर भए उनका सन्तान मातृसंस्कारको ग्रहण गर्दै सुसंस्कृत र सक्षम नागरिक बन्दछन् । वैदिककालीन महिला समाज शिक्षित थियो । उनीहरू राष्ट्रहीतका निम्ति युद्घमा समेत सरिक हुन्थे । त्यतिखेर महिलाहरू प्रशासनिक र कुटनीतिक क्षेत्रमा पनि सफल थिए । सरमा नामकी महिला दुतको काम गर्थिन भन्ने कुरा वैदिक मन्त्रबाट पुष्ट्याइँ भएको छ । त्यस्तै नारीले चुनावमा भाग लिने अधिकार पाएका थिए । देवलोकमा अनुशूया, गार्गी र मैत्रयी नारीहरूले राज्यको उन्नतिका निम्ति वौद्धिक परामर्स दिएका तथ्यले पनि वैदिक वा दैविक परिवेशमा नारीको स्थान उच्च रहन्थ्यो भन्ने कुरा प्रमाणित हुन आउँछ ।
सृष्टिलाई निरन्तर रूपमा जीवन्तता दिने वर्ग नारी नै हुन् । त्यसैले पनि मानवीय समाजमा नारीको, योगदान अतुलनीय मान्नु पर्ने हुन्छ । बाल्यकालदेखि नै सङ्घर्षपूर्ण जीवन बिताउने नारी कोमलाङ्गी, सरल, सहज, विवेकशील, भरणपोषणमा ख्याल राख्ने, सङ्घर्षशील एवम् कर्तव्यपरायण आदि गुणहरूले गर्दा समाजका हरेक क्रियाकलाप नारीको व्यावहार सामाजिक विकास र उन्नतिका निम्ति सार्थक ठहर्छ । भनिन्छ– ‘त्यो घर, घर होइन जहाँ नारीको उपस्थिति रहदैन’ । यस प्रसङ्गमा स्वसन्तान र घरपरिवारका समग्र पुरूषजनको हीत र उन्नतिका निम्ति नारी नै प्रमुख पात्र ठहर्छिन् ।
विश्वका महान् साहित्यकारहरू प्लेटो, अरस्तु, होमर, विलियम वर्थवड, हड्सन, सेक्स्पीयर, इब्सन र नित्स्य तथा भरतमुनि, भामह, कालिदास, सागरनन्दी विश्वनाथ, लक्ष्मीप्रसाद, बालकृष्ण समः, भानुभक्त आदि साहित्यकार तथा महान राजनेताको जन्म आमाबाटै नै भएको हो । त्यस्तै अल्बर्ट आइन्स्टाइन, डार्बिन विलियम, हकिङ् आदि वैज्ञानिकको जन्मपनि आमा (नारी) बाट भएको र महान प्रेरक व्यक्तिङ्खव वा समाज सुधारकको जन्मदाता पनि आमा नैं हुन् ।
राम, कृष्ण, बुद्घ, नानक आदि देव अवतार पुरूष पनि आमाकै कोखबाट पैदा भएका हुन् । सुसंस्कृत र सभ्य नारीका पुरूष वा नारी जुन कुनै सन्तान हुन् तिनिहरू निश्चित रूपमा सवल र सक्षम हुन्छन् भन्ने कुराको पुष्ट्याइँ यी कुराहरूले प्रमाणित गरेको छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आदर्श नारी सीता, कुटनीतिक ख्याती प्राप्तक भृकुटी, कुशल शासक राजेन्द्रलक्ष्मी आदिको नाम अग्रपङ्तिमा आउँछ । त्यस्तै नारीमाथि हुने गरेको अन्याय र अत्याचारको अन्त्य गर्न भोजपुरमा (वि.सं.१९२४) जन्मेकी योगमायाले गरेको क्रान्तिका कारण वि.सं.१९८२ मा दास प्रथाको अन्त्य हुन पुग्यो र सतिप्रथा पनि समाप्त भएको इतिहास ताजै छ ।
नेपाली साहित्य सिर्जनामा अमूल्य योगदान दिनुहुने गोमा, कुसुममञ्जरी देवी, कुन्ता शर्मा, सुषमा आचार्य, इन्दिरा प्रसाइर्, उषा शेरचन, विष्णु देवी (सुश्री पारिजात), भद्रकुमारी घले, वेञ्जू शर्मा, बानिरा गिरी, मञ्जुकाँचुली, पद्मावती सिंह, शारदा शर्मा, बाबा बस्नेत, सन्ध्या पहाडी, झमक घिमिरे, निलम कार्की, हिरण्यकुमारी पाठक आदि दर्जनौँ वरिष्ठ महिला साहित्यकारहरूका महाकाव्य, खण्डकाव्य, गीत, गजल, कथा, उपन्यास जस्ता विविध साहित्यिक विधाले विशेषतः नारी प्रकृति, मनोदशा, पीडा, रोदन चित्कार र नारी सौन्दर्य आदिलाई उजागर गर्न सफल भएका छन् । नारीमा रहेको तिव्र इच्छाशक्तिका कारण नै उनीहरुले अदम्य शाहसक ासाथ अतुलनीय कार्य गरेका प्रमाणहरू अनगिन्ती रहेका छन् । उदाहरणका लागि संसारका नारीपट्टि फर्कने हो भने म्याडम क्यूरी, हेलेन किलर, मदर टेरेसा, तसलिना नसरिन जस्ता अंदम्य शाहस र सिर्जनाको प्रतिमूर्तीहरू असङ्ख्य रूपमा रहेका छन् । नेपालमा पनि मेलवादेवी, योगमाया र पासाङ्लामू आदि नारीको योगदानलाई स्वर्णअक्षरले अभिलेख हुनु नारीका पक्षमा गौरवशाली उपलब्धी मान्न सकिन्छ ।
नेपालमा विगत केही दशक वर्षसम्म महिलालाई राज्यका यावत अङ्गहरुमा उपस्थित रहन समान अवसर थिएन । तापनि उनीहरुको तिव्र इच्छाशक्तिले गर्दा ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’ भने जस्तै उनीहरूको कला विज्ञान साहित्य आदि सिर्जनाहरू सिर्जित हुन सफल भएको हो । वर्तमान अवस्थामा महिला वर्गका निम्ति अनगिन्ती अवसरहरू पर्याप्त मात्रामा रहेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ र नेपालको संविधान २०७२ को आगमन पश्चात नारी जातीका लागि पुरुष सरह समान अवसर मात्र होइन, महिला आरक्षणको ऐन कानून र नीति नियम निर्माण कार्यान्वयन तिव्रगतिमा भएबाट महिला जागरणमा उपलब्धीमूलक कार्यहरु अगाडि बढेका छन् । फलतः वर्तमान अवस्थामा शिक्षा, स्वास्थ्य, प्रशासन, प्रहरी र सेना, वित्तिय सेवा, सार्वजनिक निर्माण एवम् आर्याजना र सङ्घ संस्था, खेलकुद आदि क्षेत्रमा महिलाको सहभागिता द्रुत वृद्घि हुदै आएका र उदाहरणीय रुपमा कार्य सम्पन्न हुने गरेका प्रमाणले आधी आकाश र धर्तीका जिम्वेवार नागरिक नारीको स्थान प्रतिष्ठित रूपमा स्थापित भएको कुरा स्वीकार नगरिरहन सकिँदैन ।
वर्तमानको महिला सशक्तीकरणयुक्त समयमा तमाम महिलाहरुले प्राप्त अवसरलाई संयमी पूर्वक स्वयोग्य, क्षमता र सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, कला, साहित्य, संस्कृति आदि क्षेत्रमा स्वतः स्फूर्त रुपले सरिक हुँदै अधिकाधिक लाभ लिन सकेमा नारी जागरणमा तिव्रतर उपलब्धी हुनका साथै समग्र नारी र पुरुषरुपी सामजिक संरचनाको तिव्र विकास हुने कुरा पनि निश्चित छ । भोक तीर्खा, आहरबिहार निन्द्रा थकाइ भावना र रुचि आदि विषयहरू ‘नारी र पुरुष’ दुवैमा समान रहेता पनि जैविक महङ्खवपूर्ण विशेषता महिला वर्गमा मात्र सीमित रहेकाले ती प्रकृतिसिद्ध गुणहरूको विशेष रक्षा गर्दै महिला सशक्तीकरणमा तिव्रता प्रदान गर्नु आजको महत्त्वपूर्ण उपलब्धी पनि हो ।