काठमाडौं। ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करण आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा आज दिउँसो २ बजे उद्घाटन खेल हुनेछ। उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितामा ए डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लिगका टिम, मोफसलका टिम, आयोजक सहारा क्लबसँगै विदेशी टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। यसैगरी, जनही २५ हजार राशिसहितको विधागत उत्कृष्ट पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ।
प्रतियोगिताबाट एक करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी र एक करोड ४९ लाख तीन हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
२०५८ सालदेखि निरन्तर हुँदै आएको आहारारा पोखरा गोल्डकपमा हालसम्म थ्रीस्टारले ५ पटक र सहाराले एक पटक उपाधि जितेका छन् । जसमा आयोजक सहारा ३ पटक मात्रै फाइनल पुगेको छ भने थ्रीस्टार ६ पटक फाइनल पुगेको छ ।