काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला आयोजनाको निर्माण समयमै सक्ने गरी नीति तथा कार्यक्रममा नै व्यवस्था गर्ने प्रतिवद्धता जनाए। सोमबार आफ्नो कार्यालय सिंहदरबारस्थित ‘एक्सन रूम’मा उपस्थित भएका प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
उनले गौरवका आयोजनामा पटक–पटक म्याद र लागत थपिँदा सरकारको सामर्थ्यमा नै प्रश्न उठेको समेत बताए । यसमा प्रधानमन्त्रीले कर्मचारीको नियत र क्षमतामा प्रश्न गरे ।
प्रधानमन्त्रीले आयोजनाको समयअवधि लम्बिने र लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने पनि बताए । उनले भने, ‘हरेक आयोजनामा सुरूको लागत अनुमानजस्तो छ, त्यसरी नै काम सम्पन्न गर्ने सोच्नुपर्छ । समयमा काम नसक्ने, अनि पटक–पटक समय र लागत बढाउने काम गर्नु हुँदैन।’
ठूला विकास आयोजनालाई गति दिन प्रधानमन्त्रीबाटै अनुगमन गर्ने गरी तयार भएको ‘एक्सन रुम’मा प्रधानमन्त्रीले सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को प्रगति र समस्याहरूबारे ब्रिफिङ सुने ।
एक्सन रुममा उपस्थित सिक्टा सिँचाइ आयोजनाका प्रमुख देवराज निरौलाले बजेट अभाव भएको सुनाए । बाँकेको ४२ हजार ७६६ हेक्टर जमिन सिँचाइ गर्ने भनिएको यस आयोजनाको हालसम्म ४० प्रतिशत काम सकिएको छ ।
आयोजना प्रमुख निरौलाले मुआब्जा वितरणका लागि पनि बजेट नभएको बताए । पूर्वी र पश्चिमी नहरमा समानान्तर रूपमा काम भइरहेको भन्दै उनले बजेट सुनिश्चित भए कार्यतालिका बनाएर काम गर्न सक्ने प्रधानमन्त्रीलाई सुनाए ।
सिक्टामा हालसम्म पुलसहितको ३१७ मिटर लामो ब्यारेज र पश्चिमतर्फ ४५.२५ किलोमिटर लामो मूल नहर बनेको छ । आयोजना प्रमुख निरौलाका अनुसार पूर्वी मूल नहरको चैनेज र ३७.६७५ किलोमिटर नहर बनेको छ ।
निरौलापछि महाकाली तेस्रो सिँचाइ आयोजना निर्देशक कुसाङ शेर्पाले भर्चुअल रूपमा प्रधानमन्त्रीलाई प्रगति विवरण सुनाए । उनका अनुसार ४८ किलोमिटर लामो नहरको २८ किलोमिटर तयार भएको छ । २२ वटा शाखा नहर बन्दैछन् । तर, शाखा नहरमा पर्ने जग्गामा मुआब्जा वितरणमा समस्या छ ।