काठमाडौं । आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज दिउँसो १ः४५ मा हुनेछ ।
नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।
आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।
नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन ।
अर्जुन कुमालले पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रन बनाएका थिए । त्यसपछि पाकिस्तानसँग ६, अफगानिस्तानसँग १० र बंगलादेशसँग १४ रनमा आउट भएका थिए ।
सिनियर टोलीबाट खेलेका गुलशन झाले चार खेलमा २, १, १८ र ३ रन बनाएका छन् । कप्तान देव खनालले न्युजिल्यान्डसँग ३६, पाकिस्तानसँग २३, अफगानिस्तानसँग ५८ र बंगलादेशसँग ३५ रन बनाएका थिए । देवले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ ।
नेपालका अर्जुन, देव र गुलशन प्रमुख ब्याटर हुन् । यी तीनमध्ये एकले ठूलो इनिङ खेल्न आवश्यक पर्दछ ।
पछिल्लो खेलमा मौका पाएका विशाल विक्रम केसीले ४८ रन बनाएका थिए । अन्य ब्याटरले पनि जिम्मेवारी लिन आवश्यक छ ।