'छाडेर काम सारा, एक काम रोजी रहेछु
यो देशमा म एउटा मानिस खोजी रहेछु'
शिशिर योगीले आफ्नो गीतमा भनेझै आजभोली मानिस भेटिनु साँच्चै मुस्किल भैसक्यो । मानिसमा मानवीय गुण भेटिनु कल्पनाको कुरा हुन थालिसक्यो। मेरा ‘बा’ तिनै कम भेटिने मानिसहरुमध्ये एक मानिस हुनुहुन्छ ।
मष्तिष्कमा रहेको बासँगको पहिलो सम्झना याद गर्न निकैबेर सोचिरहें। आखिर बासँगको मेरो पहिलो सम्झना के छ त ? चलचित्रहरुमा देखाइएझै मेरो चोर औंला समाउँदै मलाई हिड्न सिकाएको, आफ्नो काँधमा राखेर मलाई सम्पूर्ण गाउँ घुमाएको, स्कूलको पहिलो दिन स्कूल छोडेर राम्ररी पढ है, म छिट्टै लिन आउँछु भनेको, अँह त्यस्तो कुनै सम्झना छैन मलाई ।
वर्खायामको समय थियो। बाढीले गर्दा घरभित्र पानी पस्यो । हामी गोदाम प्रयोजनका लागि बनाइएको घरको आँटीमा बस्न थाल्यौँ। म आँटीको झ्यालमा बसी रमाइलो मान्दै जलमग्न मेरो टोल हेरिरहेको थिएँ। बडेमानको कटहर काँधमा बोकी बा घरतिर आउँदै हुनुहुन्थ्यो । शायद बासँगको मेरो त्यो पहिलो सम्झना हो जो मेरो मष्तिष्कमा छ ।
सानै थिएँ । स्वभावैले त्यस उमेरमा नयाँ कुरा सिक्न ज्यादा रहर लाग्छ । बा र कान्छा बा खेत जोत्दै हुनुहुन्थ्यो । मलाई पनि जोत्न सिकाइदिनुहोस न भन्दै म बाको पछि लागिरहें । मैले जिद्दि नछोडेपछि बाले दुई रुपैयाँको सिक्का दिदै भन्नुभो, ‘पर्दैन अहिले सिक्न, अब घर जा’। मैले आफ्नो जिद्दि छोडिन । कान्छाबाले भन्नु भो, ‘कान्छो, आइजो, त्यो पैसा माटोमुनी गाडिदे । भोली यो उम्रन्छ, ठुलो रुख हुन्छ अनि धेरै पैसा फल्छ ।’ कान्छा बाले भनेकै त्यो गाडेको सिक्का न कहिल्यै उम्रियो, न ठूलो रुख भो, न त धेरै पैसा नै फल्यो । तर बासँग यति धेरै सम्झनाका बिरुवाहरु रोपेको छु कि, जब राती सुत्दा जब मन भारी हुन्छ, तिनै सम्झनाका बिरुवामुनी विश्राम मार्दा मन निकै हलुका हुन्छ।
हुन त बासँग रहनु नै मेरो लागि सबैभन्दा प्रिय कुरा हो तर जब बा आफ्ना जिबनका विभिन्न कालखण्डका कथा सुनाउनु हुन्छ, मनमा छुट्टै खुसी र उर्जा मिल्छ । पिढिमा बसेर मकै उदारिरहँदा बा आफ्नो विगतलाई सम्झनु हुन्छ । म भने निकै चाख मानेर सुनिरहन्छु । घरबाट गोठ पुग्न सात–आठ घण्टा लाग्थ्यो। चाडपर्वमा बाहेक गोठमा बसिन्थ्यो । धान हुँदैन्थ्यो । मकै र मोही, सधैं यही खाना हुन्थ्यो । चाडपर्वमा जव भात खान पाइन्थ्यो, खुसीले सिमा नाग्थ्यो । समय कति धेरै बदलियो । मलाई खाना खाँदा यहि कुरा याद आउँछ अनि म थोरै खाना फालिएला झै भो भने त्यहि दृश धेरैपटक सोच्छु । आज पनि विश्वमा कति मानिस होलान जस्का निम्ति एक सामान्य खाना पनि एक असामान्य सपना होला ।
बा जब चौध वर्षको उमेरमा भागेर मद्रास गएको कथा सुनाउनुहुन्छ, म दिनहुँ हजारौंको संख्यामा रोजगारीको शिलशिलामा विदेशीने नेपालीहरुको कथा सम्झन्छु । बा भन्नुहुन्छ हामी २०४५ सालमा बाग्लुङ्गबाट कञ्चनपुर झरेको । त्यसबेला या भनौं त्यो भन्दा पनि निकै अगाडीबाट चलेको यो प्रक्रिया अझै उस्तै छ। हिमालबाट पहाड, पहाडबाट तराई, गाउँबाट शहर यस्तै चलिरहेछ । गाउँघरतिर आजभोली मान्छे मर्दा मलामी समेत भेटिन छाडे । म कल्पना गर्छु, त्यो दिन कहिले आउला जब नेपालीहरु शहर र विदेशको मोह राख्न छोड्लान । लाग्छ, यो एक फगत कल्पना मात्र हो ।
बिगत जतिसुकै भयानक किन नहोस, विगत सम्झँदा छुट्टै आनन्द मिल्छ । आजभोली जतिसुकै महंगा लुगा किन नलागाइयोस तर बाले दशैतिहारको मौका पारेर किनिदिने एक जोर कपडानै सबैभन्दा प्रिय लाग्थ्यो। साथीभाईहरुसँग बसेर खाने पिजा बर्गर भन्दा बाले धान गहुँ बेच्दा किनिदिने जेरी प्रिय लाग्थ्यो । आजभोली पाइने मीठा जुसभन्दा वाले पराल ल्याउँदा डल्लपमुनी लुकाएर ल्याइदिने उखु प्रिय लाग्थ्यो । आजभोली नयाँ वर्ष जतिसुकै उल्लासका साथ किन नमनाइयोस तर बाले नयाँ बर्षमा किनिदिने कोकाकोला नै प्रिय लाग्थ्यो । हो मेरा लागि ती सबैकुरा प्रिय छन् जो बासँग कुनै न कुनै रुपले सम्बन्धित छन् ।
बाकै छहारीमा म हुर्के । आजपनि मेरो जीवनमा विश्वविद्यालयले सिकाएको पाठभन्दा बढी महत्व बाले सिकाउनु भएको पाठहरुले राख्दछ । जीवनमा सफल हुनभन्दा बढी महत्व असल हुनमा दिनु जरुरी छ। डाक्टर, इन्जिनियर या कुनै ठूलो व्यवसायी बन्नु सेकेन्डरी कुरा हो, एक ‘मान्छे’ बन्नु प्राइमरी कुरा हो। यी कुराहरु मैले बाबाटै सिकेको हुँ। यदि मैले बालाई मेरो सुपरहिरो या प्रेरणाको स्रोत मात्र भने भने मलाई बाको सम्मानमा कमि गरेको महसुस हुनेछ । शायद बाको अगाडी कहिल्यै भनिन या भन्न नसकुँला तर बा म हजुरलाई धेरै प्रेम गर्छु । धेरै–धेरै।