काठमाडौं । उच्च अदालत पाटनको आदेशमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँण रिहा हुने भएका छन् ।बिहीबार उच्च अदालत पाटनमा बसेको न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।
उच्च अदालतले विभिन्न ६ वटा आधार देखाउँदै खाँणको संलग्नताको अवस्था देखिएको भन्न नमिल्ने भन्दै धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
उच्च अदालत पाटनले लिएका खाँण रिहाईका आधारहरु:
पहिलो आधार, खाँणले पक्राउ परेपछि बयान गर्दा आफूमाथिको आरोप पूर्ण रुपमा इन्कार गरेको ।
दोस्रो आधार, गृह मन्त्रालयमा पेश भएको भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन खाँणको हस्तक्षेपले फेरबदल नभएको ।
तेस्रो आधार, केशव दुलालबाट बालकृष्ण खाँणले रकम लिएको भन्ने दाबीलाई दुलालले नै इन्कार गरेको,
चौथो आधार, केशव दुलालको दोश्रो बयानमा टेकनारायण पाण्डेलाई एक करोड २५ लाख रुपैयाँ दिएको दावी थियो । तर पूर्वसभासद आङटावा शेर्पाले आरोप अस्वीकार गरेका थिए । यसैकारण खाँणको संलग्नता पुष्टि नभएको ।
पाचौं आधार, आफू पक्राउ परेपछि तत्कालिन सचिव टेकनारायण पाण्डेले बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई सम्बोधन गरी लेखेको चिटमा बालकृष्ण खाँणको नाम उल्लेख नभएको ।
छैठौं आधार, प्रहरीको हिरासतमा रहँदा तत्कालिन गृहसचिव टेकनारायण पाण्डेको साथबाट डायरी र कलम बरामद भएको नदेखिनु ।
यी छ वटा आधारमा न्यायाधीश कोइरालाले नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई थुनामै राख्नुपर्ने आवश्यकता नभएको निष्कर्ष निकालेका हुन् ।