काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने छ ।
सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
यद्यपि बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड अहिलेका मन्त्रीहरुको कार्यसम्पादनमा असन्तुष्ट रहेकाले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएको सत्ता गठबन्धन स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको अन्तिम समयमा रद्द भएको फिनल्याण्ड भ्रमण र कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुसँग गरेको छलफललाई मन्त्रिपरिषद हेरफेरको पूर्वसंकेतको रुपमा हेरिएको छ ।
गठबन्धनको बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको विषयमा पनि छलफल हुने बताइएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेका छन् ।
यसैगरी सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । कानुन समितिमा छलफलमा रहेको यो विधेयकका अधिकांश विषयमा दलहरुबीच सहमति जुटिसकेको छ । विवादित केही विषयमा सहमति जुटाउने प्रयास जारी छ ।