काठमाडौं। इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार गएरातिदेखि यी दुइ जिल्लामा मौन अवधि सुरु भएको हो ।
यी क्षेत्रमा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन निश्चित क्षेत्रमा भएपनि जिल्लाभर नै मौन अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ।
४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको मतदान वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।
निर्वाचन आयोगका अनुसार मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार गर्न पाइँदैन । साथै एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम र सामाजिक सन्जालबाट समेत मत माग्न निषेध गरिएको छ ।
मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ ।
यदि आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि विशेष संयन्त्रमार्फत् सुक्ष्म अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।