काठमाडौं। काठमाडौंमा आयोजित दुई दिने तेस्रो लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । ८ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित २ हजार ५०० भन्दा बढीको सहभागिता दुई दिन सम्मेलनको आयोजना गरिएको थियो।
लगानी सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ ।
सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थ मन्त्री वर्षमान पुनले लगानीकर्तासँग प्रत्यक्ष साक्षात्कार गरेका थिए । यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधि मण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् ।
सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । सम्मेलनको पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो । आइतबार नै नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको थियो । महासंघले फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता गरेको छ ।
लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ। सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप हङकङबीच वेलनेस रिसोर्ट तथा होटल व्यवसायमा सहकार्य सम्बन्धी सम्झौता भएको छ। कपिलवस्तुको गोरुसिंगेमा १०० मिलियन युआन लगानी (जग्गाबाहेक) मा यो परियोजना प्रस्तावित भएको छ ।
सम्मेलनका क्रममा ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीचतथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको छ ।
मुगु जिल्लाको रारा तालक्षेत्रमा लक्जरी रिसोर्ट निर्माणका लागि लगानी गर्न एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडबीच सम्झौता भएको छ । नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीचद्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाईड्रो परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरु बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यसका साथै तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत् विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । विभागले सोमबार नै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत् विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटनसमेत गरेको छ ।