काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि जानकारी गराएको छ ।
आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सनाखतका लागि उपस्थित हुन भनेको हो ।
नयाँ दल दर्ताको २१ अर्थात् जेठ १३ गतेभित्र प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्रको साथमा सनाखतका लागि स्वयं उपस्थित हुन भनेको हो ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई हिजो नयाँ दल दर्ताको प्रमाण पत्र दिइसकेको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित पार्टी फुटाएका थिए ।
आयोगका अनुसार जसपाबाट संघीय संसदमा १५ जना सांसद निर्वाचित छन् । जसमा प्रतिनिधिसभामा १२ जना र राष्ट्रियसभामा तीनजना छन् । उनीहरूमध्ये सातजना सांसद विभाजनको पक्षमा उभिएका छन् । सनाखत गर्ने सांसदमा अशोककुमार राई, नवलकिशोर साह, रञ्जु झा, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव छन् ।
प्रदेशसभामा जसपा नेपालका २२ जना निर्वाचित छन् । यस्तै स्थानीय तहमध्ये २१ जना गाउँपालिका अध्यक्ष, १२ जना उपप्रमुख, १९ जना गाउँपालिका उपाध्यक्ष, २९५ वडा अध्यक्ष, २९९ जना महिला सदस्य, २९६ जना दलित महिला सदस्य र ५९८ जना खुला सदस्य निर्वाचित भएका छन् ।