एजेन्सी। लिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सले इरानी उच्च अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको हो।
आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए ।
दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो ।
राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
हेलिकप्टर हार्ड ल्याण्डिङ गरेको भनिएको ठाउँबाट करिब २ किलोमिटर टाढा अजरबैजानसँग सीमा जोडिएको जोल्फा नजिकै पूर्ण जलेको अवस्थामा भेटिएको थियो।
टर्किले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको थियो। टर्कीको समाचार एजेन्सी अनादोलुले एक ठाउँमा अत्यधिक तापको स्रोत भेट्टाएको तस्वीर सार्वजनिक गरेको थियो । टर्कीले प्राप्त गरेको यो सूचना इरानलाई जानकारी गराएको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर(अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार रहेका थिए ।