काठमाडौं । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तीन पार्टीबीच सहमति भएको छ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि बिहीबार सहमति भएको हो। सहमतिपत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद शाह र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले हस्ताक्षर गरेका छन्।
तीनै दलबीच जनमतको नेतृत्वमा सरकार गठन गर्ने तय भएको छ। आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँड गरिने जनाइएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी)लाई पनि समेट्ने सहमति पत्रमा उल्लेख गरिएको छ। तीनै दलले शुक्रबार प्रदेश प्रमुखलाई भेट्ने जनाएका छन्।
अहिले मधेशमा जनता समाजवादी पार्टी (जसपा), नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन्। उनलाई सघाएका एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेका छन्।
प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादीका नौ, लोसपाका आठ, एकीकृत समाजवादीका सात, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादीका एक(एक सांसद छन्। १०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ।
एकीकृत समाजवादीले कुनै प्रतिक्रिया जनाएको छैन। लोसपाले भने जसपा नेपाल बाहेकको नेतृत्वलाई सघाउन जनाएको छ।