काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेकाे हाे।
सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति समेत दिएकाे छ।
त्यसैगरी बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ।
लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने समेत मन्त्रिपरिषद् बैठकमा निर्णय भएकाे छ।
हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १० बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरिएकाे छ।
त्यसैगरी बैठकले ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने र भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय समेत गरेकाे छ।