काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था फैलाउने कोशिस भइरहेको बताएका छन्।
शुक्रबार अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था फैलाउने कोशिस भइरहेकाले सेवा प्रवाहमा सुधार ल्याउँदै तीनै तहका सरकारलाई बलियो बनाउनुपर्ने बताएका हुन् ।
उनले संघीय निजामती सेवा ऐन संसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंगाउन पहल गरिरहेको समेत दाबी गरे। यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुने र संघीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुने उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ। यहाँ संघीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिसमा छन्। त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ। जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ।’
छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिव लगायत उपस्थित थिए ।