सुर्खेत। अखिल (क्रान्तिकारी)ले प्रदेश राजधानी लगायत कर्णाली प्रदेशमा देखिएको लो भोल्टेज र अनियमित विद्युत सम्बन्धिको समस्या तत्काल समाधान गर्न माग गरेको छ। अखिल (क्रान्तिकारी) ६ नं. प्रदेश समितिले मंगलबार जलस्रोत तथा उर्जा विकास मन्त्रालयका मन्त्री रणसिंह परियारलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्युतको समस्या तत्काल समाधान गर्न माग गरेको हो।
मुलुकलाई २०७३ सालमा लोडसेडिङ मुक्त भएको घोषणा गरिएको भएपनि हालको विद्युतको अवस्था हेर्दा उक्त घोषणा कागजमा मात्र सिमित भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ, ‘मुलुकलाई २०७३ सालमा लोडसेडिङ मुक्त भएको घोषणा गरियो। तर हालै बढिरहेको चर्को गर्मीसंगको मुकाबिलामा राज्यले साथ नदिएपछि, लो भोल्टेज र अनियमित बत्तिका कारण स्थानीय उद्योगहरु बन्द गर्न बाध्य हुनुपरेपछि, सार्वजनिक सेवा प्राप्तिमा विद्युतकै कारण ढिलाई र हैरानी बेहोर्न बाध्य हुनुपरेपछि, बत्ति अभावकै कारण विद्यार्थीको अध्ययन अध्यापन कार्यमा समस्या सिर्जना भएपछि आम जनता, उद्योगी, व्यापारी, व्यावसायी, विद्यार्थी, किसान, मजदुर सबैले उक्त घोषणालाई कागजी घोषणामा सीमित भएको अर्थमा बुझेका छन्।’
बीसौं शताब्दीको पहिलो दशकमै विजुली बत्ति बाल्न सुरु गरेको नेपालले एक्काइसौं शताब्दीको तेस्रो दशकमा पनि कृतिम अन्धकार बेहोर्नु लज्जाको विषय भएको समेत पत्रमा उल्लेख गरिएको छ।
अहिले कर्णालीले बेहोरिरहेको अन्धकार, र समग्र मलुकले बेहोरिरहेको आर्थिक राजनीतिक संकट तीन तहका सरकार भएपनि मलुकलाई आत्मनिर्भर, स्वाधीन र समृद्ध बनाउने योजना कसैसंग नहुनुको परिणाम भएको अखिल (क्रान्तिकारी) को आरोप छ।
विजुलि बेच्ने नाममा जनतालाई झुक्याउने र गुमराहमा राख्ने काम भएको र जनतालाई अन्धकारमा बस्न बाध्य पारिएको समेत अखिल क्रान्तिकारीले आरोप लगाएको छ।
पत्रमा भनिएको छ, ‘नेपाल राष्ट्रबैंकले भर्खरै सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार पछिल्लो १० महिनामा नेपालबाट निर्यात गरिएको भन्दा ४७ करोड बढीको विजुली आयात गरिएकोबाट प्रष्ट हुन्छ कि विजुलि बेच्ने नाममा जनतालाई झुक्याउने र गुमराहमा राख्ने काम भएको छ र जनतालाई अन्धकारमा बस्न बाध्य पारिएको छ। यसरी जनतालाई झुक्याउने कार्य बन्द गर्न र कर्णाली प्रदेशको विद्युत सम्बन्धि समस्या यथासिघ्र समाधान गर्नका निम्ति ध्यानाकर्षण गर्दछौं ।’