घरदेखि बाहिर बस्न थालेको पनि १५ वर्ष हुन लागेछ। हजुरसँग बिताएको १५ वर्षभन्दा ठिक विपरीत अर्को १५ वर्ष।
हिजो हजुरको फोन आउँदा, सेताम्मे फुलेका दाह्री अनि चाउरी पर्दै गएका अनुहारबीच एक मिठो मुस्कान दिँदै भन्नुभयो, ‘वृद्दाभत्ताको पहिलो पैसा बुझें। खिस्स दाँत देखाउँदै मैले भने, ‘होर? कति पाउनुभो नि?’ हजुरसँगको कुरा सकिएपछि खै मनमा के के लाग्यो, अबेरसम्म निन्द्रा लागेन।
१० वर्षअघि हराएको विदेशको मोह फेरि कहिल्लै फर्किएन। विदेशका साथीहरु बाआमा त सँधै सँगै कहाँ हुन्छन् र आइज विदेशै भन्छन्। हुन पनि हो जस्तो लाग्छ। फेरि सोच्छु, बा! मैले पो हजुरलाई केही दिन सकेको छैन। तर नेपालमै भए हरेक वर्ष दशैंमै भएपनि हजुरको आर्शिवाद थाप्न त पुग्न सकिरहेकै छु नि, होइन र? विदेशको दलदलमा फस्नेहरु निस्कन को नै सकेको छ र? लोकसेवामा नाम निकाल्छु, ढिलोचाँडो घर छेउछाउ सरुवा होला। अनि म पनि घर बस्न पाउँछु, हजुरहरुसँगै। सबै कुरा सोचैकै हुँदो हो त संसार हामीले देखेको भोगेको भन्दा धेरै फरक हुन्थ्यो होला। केही दिनयता पढ्न नै सकिरहेको थिइन्। हजुरले फोनमा सोध्नु भो, ‘पढाइ कस्तो चल्दैछ, कान्छा?’ ‘ठिक छ, राम्रै चलिरहेको छ, केही महिनामा परीक्षा छ।’ यो भन्दा धेरै म हजुरलाई के नै भन्न सक्थें र बा।
हजुरको गाली नसुनेर होला बिहान अबेरसम्म आँखा नै खुल्दैन। ३० वर्षे ज्यानले ८० वर्षे थकान देखाउँछ। पढाउन जाँदा एकैछिनलाई सहि सबै पिर बर्सन्छु। आमाले जतिको त होइन, तर क्यान्टिनको दाइको हात मिठै छ। क्यान्टिनमै खाना खान्छु। कोठामा पुगेर बनाउन अल्छि लाग्छ। दिउँसो केही बेर पढेझैं गर्छु। साँझ चिया पिउन निस्कन्छु।
‘कान्छा, कहिलेकाँही त आफैंले पनि फोन गर्नुनि हौ’ बा हजुरले फोन गर्ने बित्तिकै प्राय यसै भन्नु हुन्छ। मलाई पनि हरदिन हरक्षण हजुरसँगै बोलिरहन, हजुरसँगै बसिरहन मन लाग्छ तर पनि खै किन हो २४ घण्टा साथमा हुने फोन हातमा उठाएर हजुरलाई लगाउने र गर्वका साथ बोल्ने आँटै आउँदैन। आँट नभएर नगरेको फोनमा म नभएका झुटा बाहाना तेर्साइदिन्छु तर मेरा सोझा बा छोराका लागि मुर्ख बनिदिनुहुन्छ र मैले जानेरै नगरेको फोनका अनेकौं बाहाना पनि सजिलै पत्याइदिनुहुन्छ।
बा, हजुरलाई थाहा छ आजभोलि मलाई मान्छेहरुसँगै डर लाग्न थालेको छ। लामो समय कृतिम बनेर बस्न गाह्रो हुन्छ मलाई। उनीहरूका 'के गर्दै छाै भन्ने' प्रश्नसँग तर्सिन्छु। केही यस्तो डर हजुरको फोन आउँदा पनि लाग्छ। अझ बढी त ‘खाना खाइस कान्छा?’ भन्ने प्रश्नसँग लाग्छ। बा, म कसरी भनौँ? साँझको खाना त झन फिटिक्कै हेर्न सम्म पनि मन लाग्दैन भनेर। म साँझ कहिल्लै नखाएरै ‘उम अघि नै खाइसकें’ भन्ने जवाफ दिइरहेको हुन्छु। हजुरले ‘के खाइस त? महंगो होला ती तरकारी त?’ भन्ने प्रश्न गर्दा पो मेरो सात्तो जान्छ । सम्झिएर सिजनको कुनै न कुनै तरकारीको नाम भनेरै टारिदिन्छु। बा, विश्वास गर्नुस हजुरको कान्छो यतिसम्म झुट बोल्ने मान्छे हुँदै होइन। बालाई पीर नपरोस भनेर बोलेका झुटमा मलाई पाप लाग्छ भने पनि लागोस् बा। केही दिन नसकेपनि पीर नपार्न त कोशीस गर्न पाइयो नि होइन् र बा?
बा, हजुरको छहारीमा रहँदासम्म मेरा रहर, इच्छा, चाहाना आँखामा जम्मा हुन नपाउँदै पूरा हुन्थ्यो। हुन त अहिले पनि गरिरहनु भएकै छ। हजुर त कहिल्यै छोराको रहर पूरा गरेर नथाक्ले बा। मेरो थप एक रहर पनि पूरा गरिदिनुस न बा। बा, मलाई हजुरको साथी बनाउनुस न।
बा म भन्न चाहन्छु हजुरलाई, हजुरले छोराको तलबभन्दा पहिले वृद्धाभत्ता थाप्दा मलाई कस्तो महशुस भएकाे छ। म भन्न चाहन्छु हजुरलाई, मलाई पढ्न मन लागिरहेको छैन। केही समय घरमा बिताउन चाहन्छु। बा, म भन्न चाहन्छु यति धेरै निकम्बा छोरोलाई फोनमा अनुहार देखाउन लाज लाग्छ, त्यसैले फाेन गर्न सक्दिनँ। म भन्न चाहन्छु भान्सामा नगएको हप्तौं भैसक्यो। बा, म भन्न चाहन्छु म भित्र के के छ? बा म हजुरको साथी बन्न चाहन्छु। बा, आँसु नलुकाइ हजुरलाई एक पटक अंगाल्न चाहन्छु।
मैले पो आजसम्म हजुरको कुनै रहर पूरा गर्न सकिन। हजुर त मेरो बा, एक अन्तिम रहर पूरा गर्दिनुस् न। बा मलाई हजुरको साथी बनाउनुहोस् न।
-हजुरको कान्छो