जन्म यतिबेला नै भएको हो भन्ने दिन र बार केही थाहा छैन । नब्बे सालको भूकम्प आएको पछिल्लो वर्ष पुष महिनातिर जन्मिएको कुरा बुबा आमाले भन्दै हुनुहुन्थ्यो रे १ चिना पनि हालिएन बुबाले नाम घरमै राखिदिनु भयो ‘जोगि’ अथवा ‘जोगि लुहार’ बुबाले साहुको घरमा हलो जोतेर चार जना छोरा, तीन छोरी र आफूहरु दूई जना गरी जम्मा ९ जनाको परिवार पाल्नुभयो । जोगि लुहारको बाल्यकाल पनि त्यति सुखद बितेन। साहुको घरबाट ल्याएको पुरानो लत्ताकपडा, बुबाले काम गरेर ल्याएको थोरै अनाजले जीवन पाल्न धौधौ भयो । घरमा जेठो छोरा भएको कारण अभाव मात्रै देखेनन् उनले बुबाको जिम्मेवारी पनि बोक्नु पर्यो। बुबासँगसँगै खेतमा जाने, काम गर्ने, दिउँसोको मकैको भुटेको खाजा र नुनसँग खाएको मकैको रोटीले कयौं रात काटेका छन जोगि लुहारले । आफ्नो उमेर बढ्दै जाँदा बुबाको उमेर घट्दै थियो। बाल्यकाल मै जिम्मेवारी भारीले थिचिए १ बुबाको हलो मात्रै उनको काँधमा आएन परिवारको भारी नै जोगिको थाप्लोमा हाल्दै बुबा सधैंका लागि अस्ताउनुभयो ।
उनी भन्छ्न ‘म यस्तै एघार वर्षको थिए बुबा परमधाम जानू भयो’। बुढी आमा साना भाइबहिनी जिन्दगीको असली परीक्षा सुरु भयो। त्यतिबेला उनका सहपाठीहरुले भागेर बम्मै जाउ नभनेका होइनन्। आमाको अनुहार सम्झिएर बम्मै जान मन लागेन । साहुको हलो जोत्ने सर्तमा बुबाको किरियामा साहुसँग लिएको तीन बीसी ऋण चुक्ता गर्नै पर्ने बाध्यताले पनि उनलाई बम्मै जान दिएन । लामो स्वास फेर्दै भन्छ्न उनी भन्छन्, ‘अरुको भारी बोकेर ल्याएको नुन पनि सकिएर साहुको घरमा मागेर तिउन खान्थ्यौ।’
देशमा राणाहरुको शासन थियो । गाउँमा राणाको नामले तर्साउनेहरुको कमि थिएन । उमेर सानो भएपनि भोग्दै र देख्दै जाँदा साँच्चिकै जनतामाथि चरम अन्याय भएको उनी महशुस गर्थे। शहरमा पनि विद्यालय नभएको त्यस अवस्थामा गाउँमा विद्यालय हुने कुरै भएन । राजा , भारत र दलबीच भएको सहमतिले राणा शासनको अन्त्य भयो वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र आयो देश भर खुसियाली छायो । अब देशमा विकास हुने भयो विद्यालय खुल्ने भए भनेर जोगि पनि खुसी भए । वि.सं. २००७ सालदेखि २०१७ बीचम सरकार बदलिए । जनताको अवस्था बदल्न केही विशेष योजना आउलान भनेर कुरि रहेका जनताले केही थान प्रधानमन्त्री र केही थान मन्त्री पाए । नेपालमा २०१५ फाल्गुन ७ देखि २०१६ वैशाख २१ सम्म आम निर्वाचन भयो नेपाली काङ्ग्रेसले १०९ ओटा सिटमा ७४ सिट जित्यो । विपि कोइराला २०१६ जेष्ठ १३ गते नेपालमा जननिर्वाचित प्रधानमन्त्री भए । तत्कालीन राजा महेन्द्रले नेपाली काङ्ग्रेसको सरकारलाई विंसं. २०१७ पुस १ मा अपदस्त गर्दै पुष २२ मा नेपालमा निर्दलीय पन्चायती व्यवस्था सुरु गरे। राजाले दलका नेता कार्यकर्ता थुन्ने, जेल हाल्ने क्रम रोकिएन सर्वत्र विरोध भएपछि राजा विरेन्द्रले वि.सं. २०३६ साल जेष्ठ १० गते जनमतसंग्रह घोषणा गरे। पन्चायतहरुले अनेक प्रपन्च गरेर झन्डै ५५ प्रतिशत मत आफ्नो पक्षमा पारे। यस समयमा पनि नेपालले खासै विकासको स्पष्ट रेखा कोर्न सकेन । नेपाल राजा र राजनीतिक दलको क्रिडास्थल बन्यो । पन्चायतहरुको बर्बरताले जनता आजित भए । राजनीतिक दलले जनताको मनोविज्ञानलाई बुझिसकेका थिए । वि.सं. २०४६ फाल्गुन ७ देखि चैत्र २६ सम्म ४९ दिनसम्म प्रथम जनआन्दोलन भयो। पन्चायत घुडा टेक्न बाध्य भयो। नेपालमा पुनः प्रजातान्त्र स्थापना भयो । नेपालमा एक थान संविधान थपियो ।
यस क्रममा जोगि लुहारको जिन्दगीमा थुप्रै उथलपुथल आए । आमा गुमाए, एक सन्तानका बुबा जोगि लुहार दोस्रो सन्तान जन्माउने क्रममा बढी रक्तस्रावका कारण श्रीमती र सन्तान गुमाए । तीस वर्षमै विदुर बन्नु पर्यो । एउटा छोराको लालनपालन गर्दै उनको जवानी बित्यो । उनको दिनचर्या दिनभर साहुको खेतमा काम गर्नु, बिहान बेलुका छोराको हेरचाह र घरको काममा बत्यो।
हरेक परिवर्तनमा उनले अब त देशमा परिवर्तन हुन्छ होला भन्ने आशामै गए । देशमा एक योद्धा जन्मिएको भए भन्ने सोचिरहेको हुन्थे । माओवादीका नेता बाबुराम भट्टराईको नेतृत्वमा सरकार सामु विभिन्न चालीस बुँदे माग राखे । माग पूरा नहुने भएपछि २०५२ फाल्गुन २ गते माओवादीले शस्त्र जनयुद्धको घोषणा गर्यो । माओवादीका मुद्दाहरुले धेरैलाई प्रभावित पार्यो । गरिब सर्वाहाराको लागि माओवादी बन्दुक उठाएकोमा निम्न वर्गीय र मध्य वर्गीय जनता युद्धतिर आकर्षित भए जनताको आकर्षणले केही वर्षमै जनयुद्धले राष्ट्रिय अन्तर्राष्ट्रिय ध्यान खिच्न सफल भयो । माओवादीका नारा , गीत र भाषणले युवाहरूको रगत नै उम्लिएला झै हुन्थ्यो । गाउँमा माओवादीहरु आवतजावत बढ्न थाल्यो । जोगि लुहारका छोरा लालबहादुर पनि उनीहरुबाट प्रभावित भए । अन्ततः उनी पनि सर्वाहारा वर्ग उन्मुक्तिका लागि जनयुद्धमा होमिए । एक्लो छोराको सहारामा बाँचिरहेका जोगि झन एक्लिए । घर नै शुन्य लाग्न थाल्यो । जसका लागि दोस्रो बिहे नगरिकन बसे त्यहीँ छोरो बुबालाई छोडेर हिड्यो । केही दिनसम्म चुल्होमा आगो बलेन, जोगिलाई भोक लागेन । एकहोरो छोरो गएको बाटो हेरेर टोलाइरहन्थे । बेलाबेला छोरोले बोलाएको जस्तो ठान्थे र झस्किथे । छोरो युद्धबाट घर भेट्न आएको पहिलो दिन झम्टिएर अँगालो हालेर रोए । छोराको त्यो वाक्य जोगि लुहारलाई अहिले पनि याद छ । ‘बुबा तपाईंले हामीलाई जन्म दिनु भयो पालन पोषण गर्नु भयो अब म देशको छोरो भइसके जबसम्म देशमा सर्वाहारा जनताको मुक्ति हुँदैन तबसम्म मलाई नकुर्नु होला।’ छोरोले मुठ्ठी कसेर लालसलाम गर्यो आफ्नो बाटो लाग्यो । त्यसपछि छोरो राति एक दिन आएको थियो ।अँध्यारोमा छोरो लालबहादुरको अनुहार त्यति स्पष्ट देखेनन् । दाह्रीले अनुहार चिनिने पनि थिएन बोलिले मात्रै चिने ‘बुबा दुश्मनले हाम्रो खोजी तीब्र गरेको छ यहाँ बस्न त्यति उपयुक्त छैन’ भन्दै छोरो लालबहादुर दस एघार जनाको हतियार सहितको टोलिमा निस्किएको थियो । सायद जनमुक्ति सेना थियो क्यार । त्यसै दिन उनले छोरा फर्किने आश मारिसकेका थिए ।
दिन बिते, महिना बिते, वर्ष बित्यो हुँदाहुँदै चार वर्षसम्म छोरो घर फर्किएन। कहाँ छ के छ केही अत्तोपत्तो थिएन । अब यतिबेला उनको साहारा भने एउटा रेडियो बाहेक अरु कोहि थिएन । बेलाबेला माओवादीहरु घर आउँथे आँफै खाना बनाउँथे खान्थे र जोगि लुहारलाई पनि दिन्थे। उनका घरमा आउने माओवादीका युवायुवतीहरुले लालबहादुरको झल्को मेटिरहेका हुन्थे । नयाँ आउने माओवादीलाई सधैं आउने कमरेडहरुले परिचय गराउँथे उहाँ ‘मुक्ति’ कमरेडको बुबा जनमुक्ति सेनाको माथिल्लो पोस्टमा भएकाले होला लालबहादुर (मुक्ति) लाई नचिनेका माओवादी सायद थौरै थिए होलान । मुठ्ठी कसेर उनलाई लालसलाम ठोक्थे। यसबीचमा धेरै पटक राज्य पक्षका सेनाले दुख दिए । थुप्रै पटक घर खानतलासी गरे, धम्काए ,बन्दुकका कुनाले ठेले, कंचटमा राइफल तेर्साए । शाही नेपाली सेना गाउँ पस्यो भने युवा र महिलाहरुको जंगल भागाभाग हुन्थ्यो । सार्है दुख दिने गर्थे सेना र प्रहरीले यसरी दुख दिनु भन्दा मारिदिएको भए आनन्द हुन्थ्यो सोचिरहन्थे जोगि लुहार । दशवर्षे जनयुद्धताक जनताहरु दोहोरो मारमा थिए सुराकीको आरोपमा दुबै पक्षबाट जनता पिल्सी रहेका थिए । रेडियोमा सेना र माओवादीका जनमुक्ति सेनाको मुडभेठका घटनाहरु मुख्य समाचार बन्थे । कहिले सेना मारिएका त कहिले माओवादी कार्यकर्ता र जनमुक्ति सेना मारिएका समाचार आइरहन्थे ।
वि.सं. २०५७ सालतिर हो साँझपख टुकिको उज्यालोमा जोगि लुहार खाना बनाउँदै थिए । सातबजेको समाचार आयो माओवादी र सेनाको मुटभेठ जनमुक्ति सेनाका बटालियन कमान्डर लालबहादुर लोहार सहित ३१ जना मारिए । जोगि लुहारले टुकि रातो बलिरहेको देखे अँध्यारो रातले झनै अन्धकार छायो । त्यसपछि एकै पटक अर्को दिन होस आयो गाउँलेहरु जम्मा भएर सानत्वना दिँदै थिए । केही दिनसम्म छरछिमेकीहरु घरमा कुर्न आए पनि तर सधैं आउने कुरा पनि भएन । जोगि लुहारले छोराको जिउँदो मुख देख्न पाएनन् तर उनले छोराको लास पनि देख्न पाएनन् । माओवादीका लागि एउटा कमान्डर ढल्यो तर जोगि ल्हारको बुढेसकालको साहारा ढ्ल्यो, घर ढल्यो, विश्वास ढल्यो । जनताको मुक्तिको लागि हिँडेको एक्लो छोरो जिन्दगीबाटै मुक्ति लियो । अब बस उनीसँग भएको सहारा एउटा लठ्ठी मात्रै हो।
माओवादी जनयुद्धकै बीचमा वि.सं. २०५८ जेठ १९ गते राजा विरेन्द्रको वंशनास हुने गरी राजदरबार हत्याकाण्ड भयो। त्यति ठूलो सुरक्षा घेराभित्र राष्ट्र प्रमुखको सपरिवारको नरसंहार मच्चिनु एउटा सामान्य घटना थिएन । त्यो घटना आज पनि रहस्यमय छ । राजपरिवारको हत्याले देश नै शोकमग्न भयो । राजपरिवार हत्यापछि ज्ञानेन्द्र राज्यरोहणले जनता झन राजाप्रति नकारात्मक हुँदै गए । माओवादी आन्दोलनको मुल एजेन्डा तानाशाहको अन्त्य थियो । राजदरबार हत्याकाण्डले झनै त्यो मुद्दालाई स्थापित गर्यो । नेपालमा दोस्रो जनआन्दोलन गर्ने माओवादी र सातदलको दिल्लीमा गोप्य सम्झदारी भयो । त्यसैको फलस्वरूप वि. सं. २०६२ साल चैत २४ देखि २०६३ वैशाख ११ गतेसम्म उन्नाइस दिन देशका मुख्य शहरमा जनआन्दोलन भयो । अन्ततः राजा ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै जनताको नासो जनतामा फिर्ता गरेको घोषणा गरे। माओवादी र सात राजनीतिक दल बाह्रबुँदे दिल्ली सम्झौतासँगै नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । वि.सं.२०६३ मसिर ५ गतेको विस्तृत शान्ति सम्झौताले माओवादीका हतियार केन्टनमेण्ट्मा राखिए । त्यतिबेला केही माओवादीका नेताले भनेको जोगि लुहारलाई अहिले पनि याद छ ‘जनयुद्ध सफल भयो अब यसका बाँकी कार्यभार शान्तिपूर्ण तरिकाले गर्छौँ’।
नेपालमा पहिलो सविधानसभा चुनाव भयो । देश लोकतन्त्र हुँदै संघीय गणतन्त्रमा प्रवेश गर्यो । दोस्रो सविधानसभा सभाको चुनाले नयाँ संविधान बन्यो । जनतालाई घरघरमा दिपावली मनाउने उर्धी जारी भयो । जोगि लुहारको घरमा दिपावली त धेरै परको कुरा चुल्हो बलेन । यसबीचमा स्थानीय, प्रदेश र संघीय सरकार बने त्यसले जोगि लुहारको जिन्दगीमा केही फरक पारेन ।
जोगि लुहार झन्डै नब्बे वर्षको उमेर पुग्दै गर्दा उनको साथी भनेकै एउटा पुरानो रेडियो छ । कान र आँखा कम्जोर भएर न मान्छे चिन्छ्न न सुन्छ्न। रेडियोको आवाजले गाउँ घन्किएको हुन्छ प्राय सधैं समाचार सुन्ने बानी छ । लठ्ठीको सहाराले घरको आगनसम्मको यात्रा तय गर्छ्न । अब उनको संसार नै यो घर र आगन हो । छोरो युद्धमा मारियो राहतको नाममा एक सुक्को पाएनन् । पहिले जस्तो साहुको खेतमा काम गर्ने शक्ति छैन उनीसँग राज्यले दिएको वृद्ध भत्ताले जिन्दगी गुजारा चलिरहेको छ । झुत्रो दौरासुरुवालले उनको चिसो छेकिरहेको छ । जोगि लुहार भन्छ्न ू‘बाबू मैले राणा शासनदेखि गणतन्त्रसम्म देखे साँच्चिकै व्यवस्थाले मान्छेको अवस्था नबदल्ने रहेछ, त्यसका लागि एक इमानदार नेता र नेतृत्व चाँहिने रहेछ ।’ अचेल रेडियो सुन्छु देश बनाउन हिँडेकाहरु आफ्नाहरुलाई पद दिन व्यस्त छन्। आफ्नो जीवन सुखसयलमा बिताइरहेका छ्न् यदि मेरो लालबहादुर पनि बाँचिरहेको भए मैले त दुख पाउँदैन थिए होला । देशलाई खुसि नबनाउन सकेपनि मेरो छोरोले म बिरामी भएको बेला तातोपानी तताएर दिएको भए आफ्नो बूढो बालाई खुसी बनाउन सक्थ्यो । आँखा भरीका आँसु टोपीले पुछ्दै ‘बाबू मलाई कसले पो चिन्छ र ? पहिले छोरो युद्धमा हिँडेको बेला सबैले चिन्थे अब लालबहादुरलाई बिर्सिसके मलाई कसले चिन्छ ? बरु मेरो संदेश पुराइदिनु बाबू मेरो बिन्ती ।’ म केही बोल्न सकिन गहभरी आँसु बनाउँदै जोगि लुहार र हजारौं लालबहादुरहरु सम्झैदै कथा लेख्न बसे । आन्दोलन र युद्धले उठाएको ती सुनौला नाराले जोगि लुहारको जनजीवनमा के फरक ल्यायो ? दलित, जनजाती र पिछडिएका वर्गहरुका मुद्दा कहाँ हराए होलान ? घाइते, अपाङ्ग र निस्वार्थ आफ्नो ज्यानको बलिदानी दिने लालबहादुर (मुक्ति) हरुको मुद्दाहरुको जित भएको होर ? नेपालमा भएका पटकपट्क आन्दोलन र माओवादीशस्त्र युद्ध गलत थिए भन्न सकिँदैन तर सत्ता स्वार्थले किचलेको नेपाली राजनीति हेर्दा हजारौं युवाहरूको उर्जाशील समय बिनाअर्थ कसैले लुटेको जस्तो भने लाग्न थालेको छ। त्यो समयको भरपाई हुन सक्दैन तर एक नेपाली सपुत जन्मिनै पर्छ देश बनाउन । कोहि जन्मिएरै छोड्छ देश बनाउन।