काठमाडौं । एमाले सरकारबाट बाहिरिएपछि बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोक्नेसहितका निर्णय गरेको छ । बैठकले धानको समर्थन मूल्य तोक्नेसहितका निर्णय गरेको जानकारी सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उद्योगको प्रस्तावमा आर्थिक वर्ष २०८१/८२ को मोटा धानको समर्थन मूल्य ३४१० (प्रति क्विन्टल), र मोटा धानको मूल्य ३४८० (प्रति क्विन्टल)तोक्ने निर्णय गरेको हाे ।
नेपाल संस्कृत विश्वविद्यालयको जग्गा, सम्पत्ति, खोज लगत, संरक्षण, उपयोग र व्यवस्थापनसहितका ठोस प्रतिवेदन पेश गर्न उच्च पूर्व न्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी पनि उनले दिइन् ।
‘शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेका तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान एवं छानबिन गर्न, भवन लगायत अन्य अचल सम्पत्तिको खोज, लगत संकलन, संरक्षण, उपयोग व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको छ’ प्रवक्ता शर्माले भनिन् ।
चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा चेकपोष्ट र अरनिको राजमार्गको चौथो चरणको निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका एलओइहरूमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
साथै प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने र विश्वासकाे मतकाे सामाना गर्ने विषयमा पनि निर्णय भएकाे उनकाे भनाइ छ ।