काठमाडौं। अखिल (क्रान्तिकारी) को खुला सचिवका उमेदवार अर्जुन पौडेलले बेरोजगार उत्पादन गर्ने कारखाना मात्र भइरहेको नेपालको शिक्षा प्रणाली परिवर्तनका लागि आफू नेतृत्वमा पुग्न आवश्यक भएको बताएका छन्। निर्वाचन अघि एक भेटघाट कार्यक्रममा पौडेलले शिक्षा प्रणालीमा परिवर्तन गरी नयाँ ढंगबाट अघि बढ्नका लागि आफूसँग ठोस योजना भएकाले पनि आफूले जित्नु पर्ने दाबी गरेका हुन्।
उनले विद्यार्थीको रुचि अनुसारको व्यवहारिक शिक्षा आवश्यक रहेको औंल्याउँदै त्यसका लागि विज्ञमार्फत अध्ययन अनुसन्धान गरेर प्रतिवेदन तयार गरी प्राप्त प्रतिवेदनअनुसार योजना बनाएर अघि बढ्ने जानकारी समेत गराए। पौडेलले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन एक्लैले सम्भव नहुने भएकाले आफ्नो संगठनलाई व्यवस्थित गर्दै अन्य विद्यार्थी संगठनहरुसँग समेत हातेमालो गरेर अगाडी बढ्ने योजना रहेको बताए।
विद्यार्थीलाई राजनीतिप्रति चासो राख्ने वातावरण बनाउन, विद्यार्थीलाई रोजगारीसँग जोड्न, बढ्दो वैदेशिक पयालन रोक्न, विद्यार्थी संगठनप्रतिको भ्रम चिर्न पहल कदमी गर्ने उनको भनाइ छ। पौडेलले ओझेलमा पर्दै गएको विद्यार्थी आन्दोलनको औचित्यलाई प्रष्ट्याउन, विद्यार्थी संगठनको महत्व आम मानिसमा दर्शाउनका लागि संगठनलाई नयाँ सिराबाट अगाडी बढाउनु पर्ने भन्दै त्यसको ठोस योजना आफूसँग रहेको दाबी गरे।
उनले अबको विद्यार्थी राजनीति समस्यामा केन्द्रित नभएर समस्याको समाधानमा केन्द्रित हुनुपर्ने समेत बताए।
विगत १५ वर्षदेखि विद्यार्थी संगठनमा आबद्ध पौडेलले संगठनमा लामो समय योगदान पुर्याएका छन्। उनी वि.सं. २०६६ सालमा कक्षा सातमा पढ्दादेखि संगठनमा आबद्ध भइ जिल्ला, प्रदेश हुँदै अहिले अखिल (क्रान्तिकारी)को केन्द्रिय सदस्य छन्।
अखिल (क्रान्तिकारी) को २३ औं सम्मेलन असोज १० गतेदेखि काठमाडौंमा सुरु भएको छ। उक्त सम्मेलनले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ।