काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शिक्षा क्षेत्र सुधारका लागि विभिन्न २१ वटा विषयमा संघर्ष गर्ने निर्णय गरेको छ। अखिल (क्रान्तिकारी) ले गत मंसिर २८–३० गते सम्पन्न २३ औं राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गर्दै विभिन्न २१ वटा विषयमा संघर्ष गर्ने जानकारी गराएको हो।
यस्ता छन् संघर्षका कार्यक्रमहरु
–विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर मापदण्ड विपरीत सञ्चालित क्याम्पसहरूमा भएको मनपरी भर्ना प्रक्रिया, छात्रवृत्ति नदिने प्रवृत्ति लगायतका शैक्षिक बेथिति, विद्यार्थीरअभिभावकबाट मनोमानी ढङ्गले गरिएको शुल्क असुली र लुटपाटका विरुद्धमा संघर्ष गर्ने ।
–विद्यार्थी बेचेर कमिसन खाने, विदेश पठाउने, म्यानपावर कम्पनी जस्तै काम गर्ने, विद्यार्थीलाई विदेश जान उत्प्रेरित गर्ने कन्सल्टेन्सी तथा कलेजहरु खारेज गराउन संघर्ष गर्ने ।
–विदेशी बोर्डबाट संचालित विद्यालयहरूको दादागिरी, मनपरी र लुटका विरूद्ध संघर्ष गर्ने ।
–सरकारी विद्यालयमा हुने नियमित पठनपाठनको समस्या, शैक्षिक सामाग्रीको अभाव लगायत पठनपाठनको माध्यम अंग्रेजी भाषालाई बनाउने र त्यही बहानामा शुल्क उठाउने कार्यका विरुद्ध संघर्ष गर्ने । साथै पठनपाठनको माध्यम निजी र सार्वजनिक विद्यालय नेपाली गराउन अभियानात्मक संघर्ष गर्ने ।
–निजी शैक्षिक संस्थाभित्र विभिन्न बहानामा व्यापार गर्ने, नियमअनुसारको छात्रवृत्ति नदिने, चर्को शुल्क असुली गर्ने लगायतका कार्य विरुद्ध संघर्ष गर्ने ।
–प्रधानमन्त्री, मन्त्री, सांसद, राजनीतिक दलका नेताहरु, उच्च पदस्थ कर्मचारीहरू, प्राध्यापक, शिक्षकहरूले लगानी गरेको निजी विद्यालयका विरूद्ध संघर्ष गर्ने । साथै राज्यबाट सेवासुविधा लिने सबै व्यक्तिहरूका छोराछोरी सरकारी शिक्षण संस्थाहरूमा पढाउन दबाव सिर्जना गर्ने ।
–शिक्षामा राज्यको कुल बजेटको २० प्रतिशत रकम व्यवस्था, माध्यमिक तहको शिक्षा अनिवार्य र निःशुल्क गराउन दबाबमूलक संघर्ष गर्ने ।
–विद्यालय तथा क्याम्पसहरूमा सफा शौचालय, शुद्ध खानेपानी, व्यवस्थित लाइब्रेरी तथा ल्याब, ईन्टरनेटको सहज उपलब्धताका लागि संघर्ष गर्ने ।
–पूर्व प्राथमिक विद्यालयको शिक्षामा सुधारका लागि संघर्ष गर्ने ।
–माध्यमिक तह र उच्च शिक्षामा सापेक्षित जनमुखी शिक्षा ऐन ल्याउन संघर्ष गर्ने ।
–विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डा र पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाउने परिपाटीको अन्त्य गर्न संघर्ष गर्ने ।
–आङ्गिक क्याम्पसमा भएको निजी कार्यक्रमलाई सरकारीकरण गर्न संघर्ष गर्ने ।
–वार्षिक रूपमा पाठ्यक्रम र प्रकाशन गृह परिवर्तन गरी विद्यार्थी लुट्ने निजी शैक्षिक संस्था, कमिसन दिएर पाठ्यपुस्तक बेच्ने प्रकाशनगृह र कमिसन खाएर स्वीकृति दिने पाठ्यक्रम विकास केन्द्रविरूद्ध निर्मम र सशक्त संघर्ष गर्ने ।
–बहुप्राविधिक विश्वविद्याललयको स्थापना, प्राविधिक शिक्षाको विकास र विस्तारसंगै सिटिइभिटिमा भइरहेको निजीकरण, अनियमितता, कमिशनको चलखेल र भ्रष्टाचारका विरूद्ध संघर्ष गर्दै नसिंङ कार्यक्रममा १०० शैया माथिका अस्पतालहरूमा प्रयोगात्मक अभ्यासको सुनिश्चितता। पाठ्यक्रम, परीक्षा र मूल्यांकन प्रणालीमा सुधारका लागि संघर्ष गर्ने ।
–मेडिकल शिक्षामा भइरहेको माफियाको दादागिरी, लुटपाट र अत्याचारकाविरूद्ध निर्मम संधर्ष गर्ने ।
–नेपालको माटो सुहाउँदो वैज्ञानिक पाठ्यक्रम निर्माणका लागि संघर्ष गर्ने ।
–पूर्ण समानुपातिक स्ववियुको लागि संघर्ष गर्ने ।
–विद्यार्थीलाई स्वास्थ्योपचार, मनोरञ्जन, सूचना संचार र सार्वजनिक महत्त्वका स्थानहरूमा अनिवार्य ५० प्रतिशत सहुलियतका लागि संघर्ष गर्ने ।
–त्रिभुवन विश्वविद्यालयको जमिन हिनामिना र देशभरिका सार्वजनिक र सरकारी शिक्षण संस्थाहरूको चल अचल सम्पत्ति दुरूपयोग विरूद्ध सशक्त संघर्ष गर्ने ।
–लागूपदार्थ दुर्व्यसनी, यौनहिंसा, दाइजो प्रथा, जातीय विभेद, छाउपडी प्रथालगायत विभिन्न सामाजिक कुरीतीविरुद्ध संघर्ष गर्ने ।
–सीमा अतिक्रमण र भारतीय हस्तक्षेपका विरूद्ध संघर्ष गर्ने ।