काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा आज मन्त्रीहरुसहित केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए । आज बाँकी मन्त्रीहरुले धारणा राख्ने छन्।
सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षा गर्न भन्दै बिहीबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको थियो । बिहीबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गरेथिए । यस्तै ‘समुदायमा कांग्रेस अभियान’को कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए।
बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह र सीतादेवी देवकोटाले धारणा राखेका थिए।
केन्द्रीय समिति बैठक शनिबार सक्ने योजना छ ।