काठमाडौं। मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ भोलिदेखि सुरु हुँदैछ।
बुधबार बिहान ११ बजे बुटवलको रामनगर खेल मैदानमा बिहान एक समारोहका बीच मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले च्याम्पियनसिपको उद्घाटन गर्ने भएका हुन्।
मङ्गलबार बुटवलमा आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनमा कार्यक्रम गरी च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिस्पर्धा गर्दैछन् । सहभागी हुने टिममा मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहेको बताइएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार सात लाख रुपियाँ रहेको छ । यस्तै द्वितीय पुरस्कार तीन लाख ५० हजार, तृतीय पुरस्कार एक लाख ७५ हजार, सान्त्वना पुरस्कार एक लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।