काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण, संगठित अपराध र राष्ट्र बैंक ऐन कसुरमा दर्ता भएको मुद्दामा जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जना प्रतिवादीसँग बयान सकेर मंगलबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।
मंगलबार भएको थुनछेक बहसमा सरकारी वकिलहरूले सबै अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउन माग गरेका छन्। थुनछेक बहसमा बोल्दै सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले अनुसन्धानका क्रममा देखिएका तथ्य इजलासमा राखेकी थिइन्। मुलुकी फौजदारी संहिताले गरेको व्यवस्था अनुसार प्रतिवादीहरूलाई पूर्पक्षका लागि कारागार पठाउनुपर्ने उनले जिकिर गरिन्।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका अर्का सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले पोखराको सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय खाता रहेको र उक्त खाताबाट कम्पनीहरूमा पैसा लगेर प्रतिवादीहरूले हिनामिना गरेको बताइन। साथै यसरी हिनामिना भएको रकमलाई शुद्धीकरण बनाउन लेयरिङ गर्दै लगेको देखिएकाले निजहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आग्रह गरेकी छन्।
मंगलबारबाट सुरु भएको थुनछेक बहस सकिन तीन दिन लाग्ने अदालत स्रोतले जनाएको छ। बुधबार पूरै सरकारी वकिलको बहस चल्नेछ, बिहीबार पीडितका पक्षबाट बहस सकिए शुक्रबार प्रतिवादीतर्फका वकिलहरूले बहस गर्नेछन् । शुक्रबार जवाफी बहस सकियो भने सोही दिन आदेश आउने छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल, मिना गुरूङ, आरती गुरूङ र कृष्णबहादुर गुरूङ मुद्दाका प्रतिवादीमा छन्।
भिडियो: