काठमाडौं। नेकपा (माओवादी केन्द्र) को विद्यार्थी भातृ संगठन अखिल क्रान्तिकारीका नेता रमेश आचार्यले विद्यार्थी आन्दोलन नारामा सीमित नभइ यसले समाज र राष्ट्रको रूपान्तरण गर्नुपर्ने बताएका छन्। आचार्यले अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गर्दै विद्यार्थी आन्दोलनले विचार, योजना र संघर्षका माध्यमबाट समाज र राष्ट्रको रुपान्तरण गर्नुपर्ने बताएका हुन्।
उनले नेपालको वर्तमान राजनीतिक पृष्ठभूमिको समिक्षा गर्दै नेपालमा निजीकरणको चक्रव्यूहमा शिक्षा प्रणालीले श्रमिक वर्गलाई उपेक्षा गर्दै गएको बताए। आर्थिक रुपमा विपन्न विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित रहेको समेत उनको भनाइ छ।
आचार्यले नेताहरूको कुर्सी मोहले जनता निराश हुँदै गएकाले अबको नयाँ पुस्ताले परिवर्तनको झण्डा उठाउनु अपरिहार्य भएको बताए। उनले नेपालमा भएका विद्यार्थी आन्दोलनको एतिहासिक भूमिका स्मरण गर्दै विद्यार्थी आन्दोलनमाथि उठेका प्रश्नहरुको उत्तर खोज्ने र अखिल क्रान्तिकारीलाई पुनःसंगठित गर्दै प्रगतिशील आन्दोलनको नेतृत्व गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
उनले भने, ‘नेपालका हरेक परिवर्तनकारी आन्दोलन विद्यार्थीहरूको बलिदान र संघर्षबाट सुरू भएको हो। चाहे राणा शासनको अन्त्य होस्, पञ्चायती निरंकुशताको पतन, वा २०५२ साल बाट जनयुद्ध हुँदै २०६२/६३ को जनआन्दोलन—विद्यार्थीहरूले नै अग्रसरता लिए। तर यो इतिहासले एक गम्भीर प्रश्न सोधिरहेको छ। आजको विद्यार्थी आन्दोलन कहाँ गइरहेको छ? के हामी समाज र राष्ट्रका लागि संघर्षरत छौं? कि व्यक्तिगत स्वार्थको चक्रव्यूहमा फसेका छौं? यी प्रश्नहरूको उत्तर खोज्दै, म अखिल क्रान्तिकारी लाई पुनःसंगठित गर्दै प्रगतिशील आन्दोलनको नेतृत्व गर्न प्रतिज्ञा गर्दछु।’
आचार्यले विद्यार्थी, समाज र राष्ट्रका लागि भन्दै निम्न भिजन प्रस्तुत गरेका छन्:
१.विद्यार्थीहरूका लागि समान, गुणस्तरीय शिक्षालाई वर्गीय र जातीय भेदभावबाट मुक्त गर्दै सर्वसुलभ बनाउने। निजीकरणको चपेटाबाट शिक्षालाई बचाउँदै सार्वजनिक शिक्षालाई बलियो बनाउने।
२. रोजगारीमुखी शिक्षा प्रणाली विद्यार्थीहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउन प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने। अनुसन्धान र नवाचारलाई प्राथमिकतामा राख्ने।
३. विद्यार्थी अधिकारहरूको सुरक्षा, छात्रवृत्ति, आवास, र यातायातमा विभेदविरुद्ध संघर्ष। मानसिक स्वास्थ्य र यौनजन्य हिंसाविरुद्ध विद्यार्थीहरूको लागि सहायता कार्यक्रम सञ्चालन।
आचार्यले निम्न कुरा सुनिश्चित गर्ने घोषणा गरेका छन्:
१.संगठनको पुनःउत्थान अखिल क्रान्तिकारीलाई विचारधारात्मक रूपमा सुदृढ पार्दै संगठनात्मक एकतामा जोड दिने।
२.राजनीतिक शिक्षाको अभिवृद्धि
विद्यार्थीहरूलाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा प्रशिक्षित गर्दै समाजवादको लागि संघर्षशील बनाउने।
३.आधुनिक आन्दोलनको नेतृत्व
डिजिटल प्रविधि र सञ्चारलाई उपयोग गरी विद्यार्थी आन्दोलनलाई आधुनिक बनाउने।
३२ वर्ष उमेरहद लागु भएपछि अब नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुँदैछ।