काठमाडौं। आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। मलेसियामा माघ ५ गतेदेखि हुने विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोली घोषणा गरेको हो।
नेपाली टोलीको कप्तानमा पूजा महतो र उपाकप्तानमा सोनी पाख्रिन छिन्। त्यसैगरी टोलीमा सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ रहेका छन्।
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्।
नेपालले पहिलो खेल बंगलादेशसँग माघ ५ गते खेल्नेछ। सो खेल मलेसियाको बांगीमा हुनेछ। दोस्रो खेल माघ ७ गते स्कटल्यान्ड र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियाविरूद्ध हुनेछ।