नेपालको कम्युनिष्ट आन्दोलन आरोह-अवरोहका अनेकौं शृङ्खलाहरु झेल्दै यहाँसम्म आइपुगेको छ । पार्टी आन्तरिक जीवनमा होस् वा बाहिर, संघर्ष नै कम्युनिष्टहरुको आधारभुत तरिका हो । संघर्षबाट कहिले रुपान्तरण हासिल हुन्छ त कहिले टुटफुट तथा विभाजन बेहोर्नुपर्ने हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनले संघर्षको आफ्नो इतिहासमा रुपान्तरण भन्दा बढी टुटफुट तथा विभाजन बेहोर्दै आएको छ । हामीले हेर्यौं भने नेपालमा कम्युनिष्ट पार्टिको जति लामो इतिहास छ लगभग त्यति नै लामो टुटफुट र विभाजनको श्रृंखला समेत विद्यमान छ । यसो हुनाको पछाडी मुलतः पार्टि लाइनमा हाबी हुँदै गएको अवसरवाद जिम्मेवार छ । अवसरवादको प्रकृति यस्तो छ कि यो आफू रुपान्तरित हुन चाहदैन । यसले आफ्नो मूलभूत प्रवृत्तिमा कुनै बदलाब ल्याउदैन बरु पार्टीपंक्ति सबैलाई आफूमा रुपान्तरित गर्नेगरी काम गरिरहेको हुन्छ । क्रान्तिकारी प्रकृति यस्तो हुन्छ कि यसले सधैं संघर्ष र रुपान्तरण खोजिरहेको हुन्छ । यसर्थ, पार्टिमा हाबी हुँदै गएको अवसरवादी लाइन र विद्यमान क्रान्तिकारी लाइनको बीचमा टकराव हुने स्थिती पैदा हुन्छ र सोही कारण पार्टि विभाजनको स्थितिमा पुग्दछ । नेपालमा कम्युनिष्ट पार्टि विभाजनको श्रृंखलामा मुलभूत रुपले यसै प्रवृतिलाई जिम्मेवार ठह¥याउन सकिन्छ । परिणामस्परुप आज कम्युनिष्ट नामका थुप्रै पार्टिहरु राजनीतिक वृत्तमा देख्न पाइन्छ ।
संशोधनवाद र जडशुत्रवादले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सक्दैन । कम्युनिष्ट आन्दोलनको र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि क्रान्तिकारी पार्टी नै चाहिन्छ ।
नेपालमा कम्युनिष्ट नामका धेरै पार्टीहरु भएपनि आधारभुत रुपले तीनवटा धाराहरु विद्यमान छन् । एक, संशोधनवादी धारा । दुई, क्रान्तिकारी धारा । तीन, जडशुत्रवादी धारा । अवसरवादी प्रवृत्ति संशोधनवादी धारामा नै प्रभुत्वशाली रहि आएको छ ।
अवसरवादी कित्ताले सधैं आफ्नो उन्नति खोजिरहेको हुन्छ र क्रान्तिकारी कित्ताले शोषित, उत्पीडित जनता र समग्र देशको उन्नति खोजिरहेको हुन्छ । कुरा यति मात्रै होइन, कम्युनिष्ट आन्दोलनको र आन्दोनलबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि क्रान्तिकारी पार्टी नै चाहिन्छ । हामीले हेर्यौं भने जब-जब पार्टीमा क्रान्तिकारी कित्ता कमजोर बन्यो वा अवसरवाद हाबी भयो, त्यो देशको कम्युनिष्ट आन्दोलन नै धरासायी बने । तर जब पार्टीमा क्रान्तिकारी कित्ताको विजय हुन्छ, तब आन्दोलन र उपलब्धिको रक्षा भएको छ, आन्दोलन नयाँ उचाईमा पुगेको छ । विश्व कम्युनिष्ट आन्दोलनमा विगतको अनुभव यहि हो । नेपालको कम्युनिस्ट आन्दोलनमा भने अवसरवादी कित्ता हाबी हुनेबित्तिकै पार्टी विभाजनको स्थिति पैदा हुनेगरेको छ । क्रान्तिकारी कित्ताले यसैगरी विचार र आन्दोलनको रक्षा र विकास गर्दै आएको छ । यसैकारण, नेपालमा कम्युनिष्ट पार्टि विभाजनको हरेक श्रृंखलामा प्रत्येकपटक क्रान्तिकारीहरु नै विजेता बन्दै आएका छन् । उनीहरुले नै जनताको÷आन्दोलनको अर्थात परिवर्तनको नेतृत्व गर्दै आएका छन् । नेपालमा कम्युनिष्ट पार्टिको संक्षिप्त इतिहास यहि नै हो ।
हाम्रो पार्टि र संगठन जनताको मुक्तिको खातिर संघर्षमा छ । यो कुरा हामीले विगतमा पार्टिभित्र गर्नुपरेको विद्रोहमा अझ स्पष्ट ढंगले झल्किन्छ । हाम्रो पार्टिले विगतकालमा जनताको मुक्तिको प्रश्नलाई लिएर जीवन मरणको संघर्ष बेहोरेको छ । जबजब पार्टिमा मुक्तिको प्रश्न हरायो वा पार्टिको लाईन मुक्तिगामी विचारबाट विचलित बन्न पुग्यो, त्यसबेला हामीले पार्टिभित्रै विद्रोह गर्नु प¥यो । ति दिनहरु सामान्य विद्रोहका दिनहरु मात्रै थिएनन्, पार्टिभित्र हाबी भएको अवसरवाद, संशोधनवाद र जडशुत्रवादका विरुद्ध विद्रोहका दिनहरु थिए । जनताको मुक्तिका निम्ति हाम्रो अठोटका दिनहरु थिए । हामीले त्यहाँ एक इन्च पनि सम्झौता गरेनौं । हामीले संघर्ष ग¥यौं, हामी विजेता बन्यौं र बन्दै आएका छौं । हाम्रो पार्टि, नेकपा (बहुमत) त्यहि संघर्षको परिणाम हो । यसैकारण यो क्रान्तिकारीहरुको अग्रदस्ता हो । यसैले नै वर्तमानमा नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको छ ।
हामी यहाँसम्म आइपुग्दा पार्टि र संगठनभित्र कतै सहकार्य त कतै संघर्ष गर्दै आउनु परेको छ । संघर्ष र सहकार्य दुबैमा मालेमावादको रक्षा, विकास र प्रयोग नै हाम्रो एउटै सच्चाई हो । तर विगतकालमा मालेमावादको रक्षा गर्ने नाममा विचारको मात्रै रटान लगाउने काम बढी भयो । यो सर्वथा एकांकीपन थियो जसका कारण जडशुत्रवाद समस्याका रुपमा अगाडी आयो । कतै विकास गर्ने नाममा मालेमावादी विचारमा सुधार वा संशोधनवाद हाबी हुँदै गयो । तथा प्रयोगमा कतै उग्र वामपन्थी भड्काववाद त कतै दक्षिणपन्थी अवसरवाद हाबी हुँदै गयो । यसैले नेपालको कम्युनिष्ट आन्दोलनले आजसम्मको आफ्नो इतिहासमा अनेकौं आरोह अवरोहहरु खप्नु परेको छ । यि सबै प्रवृतिका विरुद्ध हामी जुध्दै र जित्दै यहाँसम्म पुगेका छौं ।
विगतकालका हाम्रा सिकाइ र अनुभवका आधारमा अब हामी विल्कुलै भिन्न तरिकाले अगाडी बढ्ने तयारीमा छौं । यसको मतलब हामी पार्टि आन्दोलनको पुनर्गठन गर्ने तयारीमा छौं । यसका निम्ति हाम्रो पार्टिले महान पाँच पुनर्गठनमा जोड दिएको छ । पुनर्गठनको अभियान अन्तरगत हाम्रो पहिलो अभिभारा अवसरवादलाई निष्तेज पार्नु हुनेछ । यसो गर्नुको हाम्रो मूल आशय पार्टिलाई श्रमजीवि, मजदुर, किसान, उत्पीडित जाति, समुदाय र जनताको बीचमा फर्काउनु, र आन्दोलनलाई जनस्तरबाट उठाउनु हुनेछ । समग्रमा पार्टि संगठन र आन्दोलनलाई केन्द्रीकरण गर्नु हुनेछ । यो अभिभारा यति अनिवार्य भैसकेको छ कि अवसरवादलाई यथावत राखेर पाँच पुनर्गठनको कार्यभार पुरा गर्न सकिने छैन । किनभने आजसम्मको राजनीतिक आन्दोलनको इतिहासलाई केलाएर हेर्दा हरेक राजनीतिक पार्टि, आन्दोलन र संगठनमा अवसरवाद सबैभन्दा ठुलो रोगको रुपमा देखिदै आएको छ । मूलतः कम्युनिष्ट पार्टिमा यो रोग डढेलो जसरी फैलिने र यसले सम्पूर्ण आन्दोलनलाई नै सखाप पार्ने गरेको छ । त्यसैले एउटा कुरा के स्पष्ट हुन आएको छ भने आन्दोलनलाई बचाउन पहिलो लडाई आन्तरिक रुपले अवसरवादीसंग हुन जरुरी छ । अर्थात क्रान्तिकारी पार्टि, संगठन र आन्दोलनलाई बचाउने पहिलो तरिका अवसरवादीहरुलाई पहिचान गर्नु र तिनलाई हाबी हुन नदिनुु नै हो । अन्यथा पार्टि आन्दोलन भयानक चक्रव्युहमा फस्ने हुन्छ ।
असवरवादले संशोधनवाद जन्माउँछ । संसोधनवादले प्रतिक्रियावादको सेवा गर्छ । यसरी मुक्तिगामी अभियानमा तगारो हाल्ने अवसरवादलाई झांगिन दिनुहुँदैन, समयमै पहिचान गर्ने र परास्त गर्नेमा जोड दिनुपर्छ ।
आज हाम्रो पार्टिमा कयौं इमान्दार नेता, कार्यकर्ताहरु हुनुहुन्छ । उहाँहरुको इमान्दारिता, त्याग र समपर्णलाई सम्मान गर्नुपर्छ । तर संगसंगै अल्प रुपमा अवसरवाद समेत विद्यमान छ । र यसले पछिल्लो समय आफ्ना जराहरु फैलाउँदै र मजबुत बनाउँदै गएको छ । धरातलमा केही सीमित अवसरवादी मान्छेहरुको हालीमुहाली र दबदबा स्पष्ट देखिन्छ । यसैका कारण कयौं इमान्दार नेता कार्यकर्ताहरु छाँयामा परेकाे र निराश बनेको स्थिति छ । पार्टिमा क्रान्तिकारी स्पिरिट हराएको छ । यस धरातलिय यथार्थतालाई अनदेखा गर्न हुँदैन । बरु समयमै यसको समाधान खोज्नुपर्छ । र अझ विशेष रुपले ख्याल गर्नुपर्छ कि क्रान्तिकारी कुरा गर्नेहरु सबै क्रान्तिकारी हुदैनन् । क्रान्तिकारी कुरा गर्नेमा त वास्तविक क्रान्तिकारीहरुलाई भन्दा प्रतिक्रायावादीले सजिलै उछिन्न सक्छ ।
अवसरवादले संशोधनवाद नै जन्माउने हो र संशोधनवादले अन्ततः प्रतिक्रियावादको सेवा नै गर्ने हो । त्यसैले आजको अनिवार्य आवश्यकता अवसरवादलाई परास्त गर्नु र पार्टीमा क्रान्तिकारी सान लगाउनु रहेको छ । हामीले हाम्रो पार्टिमा विद्यमान अवसरवादको स्वरुपलाई चिन्न र त्यसलाई परास्त गर्न सक्यौं भने हामी कसैसंग हार्ने छैनौं । तर यदि यसो गर्न सकिएन भने हामी आफैंसंग हार्न विवस हुनेछौं । यसर्थ, हामीलाई विश्वास छ, हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को यहि माघ ४ देखि १० सम्म हुन गइरहेको ऐतिहासिक नवौं महाधिवेशनले अवसरवादलाई परास्त गर्न र पार्टीलाई वर्तमानको आवश्यकताको सापेक्षतामा क्रान्तिकारीकरण गर्न सफल हुनेछ ।
लेखक नेपाल कम्युनिष्ट पार्टि (बहुमत) मा आवद्ध हुनुहुन्छ ।