काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आज राष्ट्रिय भेला २०८१ को आयोजना गरेको छ। महासंघले आयोजनाहरूको भुक्तानी नपाएको, निर्माण सामाग्रीमा अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थपको समस्या, राष्ट्र बैंकबाट निर्माण उद्योगले पाएको सहुलियत खारेजी लगायतका विषयमा विरोध स्वरूप सम्बन्धित सरकारी निकायहरूमा दबाब मूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गर्न राष्ट्रिय भेलाको आयोजना गरेको हो।
राष्ट्रिय भेलामा महासंघले ९ बुँदे कार्यपत्र प्रस्तुत गरेपछि अन्य निर्माण व्यवसायीले उक्त कार्यपत्र र महासंघको गतिविधिका सम्बन्धमा नै प्रश्न गरेका छन्। कर्णाली प्रदेश महासंघका अध्यक्ष यमबहादुर विसीले नेताहरुको कानमा तेल नभएर तेजाब हाल्ने गरीको आन्दोलन गर्ने भएमात्र आन्दोलन गर्न आफू तयार भएको बताए। उनले सरकारको विरोधमा आन्दोलन गर्दैगर्दा महासंघका ठूला मानिस नेताको चाकरी जाने काम नहोस भन्दै महासंघप्रति खबरदारी गरे। उनले भने, ‘आन्दोलन भइरहेको हुन्छ, कोही भने नेताको चाकरी गर्न गइरहेको हामीले देखेका छौं। त्यस कारण अहिलेको आन्दोलन हामीलाई परेको मर्कामाथि न्याय मिल्ने होस्। आन्दोलन नै गर्ने भए दुई चार दिन ढिलो गरौं तर हाम्रो समस्या समाधान हुने गरेर गरौं।’
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्षले अबको आन्दोलन सार्थकताको आन्दोलन हुनुपर्ने बताए। उनले भने, ‘यसअघिको आन्दोलनमा पनि भनेका थियौं, सिमालाई तोडौं र संसद भवन घेरौं भनेर। त्यो बेला महासंघ अध्यक्ष ज्यूले मान्नु भएन। अब पनि पुरानै तरिकाले जाने हो भने हामी यो आन्दोलनमा सरिक हुँदैनौं।’
निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले केही सिमित मानिसको सिमेन्ट सस्तो मुल्यमा अझ क्रेडिटमा पाइरहेको तर अरुले भने पैसा तिर्दा समेत समयमा पाउन नसकेको बताए। उनले महासंघले भित्रभित्र सेटिङ गरेर आफ्नो फाइदाको लागि काम गरेको र आम व्यवसायीलाई राष्ट्रिय भेलाको बाहाना बनाएर काठमाडौं बोलाएर बेबकुफ बनाएको आरोप समेत लगाए। उनले भने, ‘यो जाडोको बेला, पुस मसान्तको समयमा सबैको व्यवहार मिलाउनु पर्ने समयमा राष्टिय भेला भनेर हामी आयौं। तर यो महासंघले हामीलाई बेबकुफ मात्र बनाएको थाहा पाउँदा दुख लाग्यो। हामी जिल्लामा बस्छौं यहाँ महासंघकाहरुले अर्थमन्त्रालयमा गएर के के गर्ने आफ्नो सजिलो मिलाउने गरेको हामीलाई थाहा छैन? आन्दोलन गर्ने भए छातिमा हात राखेर सत्य तरिकाले गर्ने भए गरौँ नत्र बेबकुफ नबनाउँ। सँधै आन्दोलन भन्यो जिल्लाबाट पैसा ल्यायो यहाँ खन्यायो गयो केही उपलब्धी भएको छैन। आन्दोलन गर्ने भए उपलब्धिमुलक गरौं नत्र नगरौं।’
ललितपुर निर्माण व्यवसायी संघको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिनाले महासंघले खर्च हुने ठाउँ भयो भने प्रदेश र जिल्लाबाट जम्मा दुई जनालाई बोलाउने गरेको र आन्दोलन गर्न पर्यो भने सय जना बोलाउने गरेको बताए। उनले महासंँघ नै थितिमा बसेन भने अरु कोही बस्दैनन् भन्दै सबैले नियम कानुनमा बस्नुपर्ने बताए।
अन्य निर्माण व्यवसायीले साना निर्माण व्यवसायीका लागि महासंघल आजसम्म के गरेको छ? भनेर प्रश्न गरेका छन्। आजसम्म भएका राष्ट्रिय भेला र आन्दोलनमा साना व्यवसायीले काँधमा काँध मिलाएर काम गरेपनि उनीहरुकै लागि महासंघले कहिल्यै कुनै पहल नगरेको व्यवसायीहरुको आरोप छ। उनीहरुले निर्माण व्यवसायी महासंघले आफ्नो स्वार्थपूर्तीका लागि मात्र काम गर्ने भए जिल्ला जिल्लामा संघ नरहने र सबैले आफ्नै आफ्नै हिसाबले काम गर्ने चेतावनी समेत दिएका छन्।
केही व्यवसायीहरूले महासंघले गर्ने भनेको आन्दोलनप्रति नै शंका व्यक्त गर्दै सरकारबाट लिने भन्दा बजारमा तिर्नपर्ने बढी भएका व्यवसायी पनि भएको बताए। उनीहरुले आफ्नो स्वार्थको लागि आन्दोलन भन्ने, राष्ट्रिय भेला भन्ने अनि आफ्नौ स्वार्थ पूरा भएपछि मिलेमतो गर्ने गरेको आरोप समेत लगाएका छन्। व्यवसायीहरुले वास्तवमै निर्माण व्यवसायीको समस्या समाधानका लागि सत्य र इमान्दार तरिकाले आन्दोलन गर्ने भए मात्र साथ दिने बताएका छन्।
आज भएको राष्टिय भेलामा कार्यपत्रमाथि छलफल भइरहेको छ। छलफलपछि आन्दोलन गर्ने नगर्ने, गर्ने भए कहिले कसरी गर्ने भन्ने निष्कर्ष निस्कने बताइएको छ।