काठमाडौं। नेपाल विद्युत प्राधिकरणले थप १४ वटा उद्योगको विद्युत काटेको छ। प्राधिकरणले शुक्रबार पाँच करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका १४ वटा उद्योगको विद्युत आपूर्ति बन्द गरेको हो।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको हो । पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चारवटा उद्योग र त्यसपछि थप पाँचवटा गरी ९ वटा उद्योगको लाइन काटेको थियो ।
शुक्रबार लाइन काटिएका १४ उद्योगसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ ।
शुक्रबार बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एण्ड स्टील, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन ,एभरेष्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नी सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट र नारायणी इस्पातको लाइन काटिएको हो ।